काठमाडौं। एकै व्यक्ति ३८ पटकसम्म चोरी मुद्दामा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले तनहुँको ऋषिगंगा गाउँपालिका–५ रामजाकोटका ३९ वर्षीय सन्तोष रानाभाटलाई ३८औं पटक चोरी मुद्दामा पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका रानाभाटको साथबाट सुनका विभिन्न गरगहना ८८० ग्राम, चाँदीका विभिन्न गहना ३१७, धातु सिक्का १९ थान, विभिन्न कम्पनीका घडी ५ थान, मोबाइल दुई तथा खुकुरी र फलामको रडसमेत बरामद गरेको छ।
वैशाख १४ गते काठमाडौंको टोखा जागरण टोलको एक घरमा भएको चोरी घटनाको अनुसन्धान गर्दै जाँदा उनको संलग्नता खुलेपछि रानाभाटलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
प्रहरी अनुसन्धानका क्रममा रानाभाटले गत चैत ११ मा काठमाडौंको सचेतनामार्ग र वैशाख ८ मा कालोपुलका घरमा समेत चोरी गरेको खुलेको छ। अनुसन्धानका क्रममा रानाभाट ‘पेसेवर चोर’ भएको खुलेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले रानाभाटलाई १३ पटक चोरी कसुरमा मुद्दा चलाइसकेको छ। ३७ पटक पक्राउ परेका रानाभाटलाई १७ पटक जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। ६ पटक जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको खुलेको छ।
रानाभाटमाथि प्रहरीले २२ पटक अभद्र कसुर, एकपटक लागुऔषध मुद्दा र एकपटक हातहतियार खरखजना मुद्दा दर्ता गरेको खुलेको छ । पर्सा प्रहरीले उनीमाथि २०६९ वैशाख २७ मा लागूऔषध मुद्दा चलाएको खुलेको छ।
प्रहरीको अनुसन्धानमा उनी समूह बनाएर भन्दा पनि एक्लै चोरी गर्दै हिँड्ने गरेका छन्। विभिन्न ठाउँ पैदल हिँडेर पुग्ने रानाभाटले घरमा मान्छे नभएको मौका छोपेर चोरी गर्ने गरेको प्रहरीको भनाइ छ।