काठमाडौं। नेपाली पेय पदार्थ बजारमा ऊर्जा पेय श्रेणीको प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ। सीजी रिलायन्स बेभरेज प्रालिले नेपालमा ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ सार्वजनिक गरेको छ। नयाँ उत्पादनसँगै कम्पनीले क्याम्पा ब्रान्डअन्तर्गतको आफ्नो पोर्टफोलियो थप विस्तार गरेको हो।
यसअघि बजारमा रहेको क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज पछि कम्पनीले अब ऊर्जा पेय बजारमा समेत आक्रामक प्रवेश गरेको छ। कम्पनीका अनुसार क्याम्पा इनर्जी गोल्ड बुस्टले युवापुस्ता, व्यस्त जीवनशैली भएका उपभोक्ता तथा अतिरिक्त ऊर्जा खोज्ने ग्राहकलाई लक्षित गरेको छ।
नयाँ उत्पादन २५० एमएल क्यानमा उपलब्ध हुनेछ, जसको खुद्रा मूल्य रु. ८० तोकिएको कम्पनीले जनाएको छ। उत्पादन देशभरका खुद्रा पसल तथा वितरण केन्द्रमार्फत उपलब्ध भइसकेको छ। कम्पनीका अनुसार यो पेय मकवानपुरको मनहरीस्थित सीजीको बोटलिङ प्लान्टमा उत्पादन भइरहेको छ।
स्थानीय उत्पादन भएकाले गुणस्तर नियन्त्रणसँगै निरन्तर आपूर्ति व्यवस्थापनमा सहजता हुने विश्वास कम्पनीको छ। प्रारम्भिक बजार प्रतिक्रियामा उपभोक्ताले यसको स्वाद, क्याफिन प्रभाव तथा दिने ‘किक’ प्रति सकारात्मक प्रतिक्रिया दिएको कम्पनीले जनाएको छ।
ऊर्जा पेय बजारमा नयाँ प्रतिस्पर्धा
नेपालमा पछिल्ला वर्षहरूमा ऊर्जा पेयको माग निरन्तर बढिरहेको छ। विशेषगरी युवा वर्ग, लामो दूरीका यात्रु, खेलकुदमा संलग्न समूह तथा रात्रिकालीन कार्यमा संलग्न उपभोक्ताबीच यस्तो पेयको प्रयोग बढ्दो क्रममा छ। यही अवसरलाई लक्षित गर्दै क्याम्पाले बजारमा नयाँ विकल्प ल्याएको विश्लेषण गरिएको छ।
सीजी र रिलायन्सको संयुक्त लगानी
सीजी रिलायन्स बेभरेज प्रालि, चौधरी ग्रुप (सीजी) र रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसिपिएल) बीचको संयुक्त लगानी कम्पनी हो। नेपालमा क्याम्पा ब्रान्डका उत्पादनहरूको उत्पादन तथा वितरण यही कम्पनीमार्फत भइरहेको छ।
आरसिपिएल भारतको रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको उपभोक्ता वस्तु व्यवसाय हो। कम्पनीले सन् २०२२ मा क्याम्पा ब्रान्ड अधिग्रहण गरी २०२३ मा भारतीय बजारमा पुनः सार्वजनिक गरेको थियो। त्यसयता क्याम्पा ब्रान्डले भारतसहित यूएई, ओमान, बहराइन र नेपाल जस्ता अन्तर्राष्ट्रिय बजारमा विस्तार गरिरहेको छ।
सीजीको बलियो बजार पहुँच
नेपालकै अग्रणी व्यवसायिक समूह चौधरी ग्रुपअन्तर्गत २०० भन्दा बढी कम्पनी र २६० भन्दा बढी ब्रान्ड सञ्चालनमा छन्। फुड एन्ड बेभरेज, बैंकिङ, शिक्षा, आतिथ्य, सूचना प्रविधि, रियल स्टेट र पूर्वाधार क्षेत्रमा सक्रिय सीजीले आफ्नो बलियो वितरण सञ्जालमार्फत क्याम्पा ब्रान्डलाई नेपालभर विस्तार गरिरहेको छ। नयाँ ऊर्जा पेय सार्वजनिकसँगै नेपाली बजारमा बहुराष्ट्रिय र स्थानीय ब्रान्डबीच प्रतिस्पर्धा अझ तीव्र हुने देखिएको छ।