काठमाडौं। नेपाल वायुसेवा सञ्चालक संघले हवाई सेवा क्षेत्रमा देखिएको आर्थिक दबाब न्यूनीकरण गर्न सरकारसँग विभिन्न राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ। संघले आइतबार एक विज्ञप्ति जारी गर्दै विमानस्थल सेवा शुल्कमा उल्लेख्य कटौती गर्न माग गरेको हो।
संघले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेशन, हाउजिङ लगायतका शुल्कमा कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने माग अघि सारेको छ। साथै, २०७८ चैत ३० मा स्वीकृत ‘विमानस्थल सेवा शुल्क नियमावली, २०७८’ तत्काल संशोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
हाल लागू मौसमी शुल्कअन्तर्गत आन्तरिक उडानमा प्रत्येक अवतरण वा उडानका लागि १० अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था रहेको छ। संघका अनुसार यसले वायुसेवा कम्पनीहरूको सञ्चालन लागत बढाएको मात्र होइन, यात्रु भाडादर पनि महँगो बनाउने दबाब सिर्जना गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइएको ज्ञापनपत्रमा संघले पछिल्ला अन्तर्राष्ट्रिय र आन्तरिक परिस्थितिले हवाई क्षेत्र गम्भीर संकटमा परेको जनाएको छ। विशेषगरी कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि, मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्व, कोभिड–१९ महामारीको दीर्घकालीन प्रभाव तथा २०८२ भदौको आन्दोलनले उद्योगमा थप दबाब सिर्जना गरेको उल्लेख गरिएको छ।
संघका अनुसार विगतमा कुल सञ्चालन खर्चको ३०–४० प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेकोमा हाल यो अनुपात बढेर ५५–६० प्रतिशत पुगेको छ। यसले वायुसेवा कम्पनीहरूको वित्तीय अवस्था कमजोर बनाउँदै लगेको संघको भनाइ छ।
साथै, बढ्दो लागतका कारण नेपाल आउने पर्यटकको संख्यामा समेत कमी आएको भन्दै संघले तत्काल हस्तक्षेप नगरे हवाई सेवा क्षेत्र थप संकटमा पर्न सक्ने चेतावनी दिएको छ।
