काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले पाँच वर्षमा १ सय खर्बको अर्थतन्त्र, दोहोरो आर्थिक वृद्धि र दुई लाखलाई रोजगारी दिने मार्गचित्र बनाउने भएको छ। महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पदबहालीपछि तीन वर्षसम्म गर्ने काम र प्रतिबद्धता सार्वजनिक गर्दै पाँचवर्ष पहिलानै अघि सारेको योजनालाई कार्यान्वयन गर्न मार्गचित्र बनाउने घोषणा गरेका हुन्।
‘सरकारले निजी क्षेत्रलाई साक्षी राख्ने भन्दा पनि सहकार्य गर्ने वातावरण बनाउन जरुरी छ। नीति बनाउँदा, बजेट बनाउँदा, ऐन ल्याउँदा, अन्तर्राष्ट्रिय वार्ता गर्दा हरेक चरणमा निजी क्षेत्रको आवाज सुनिनुपर्छ’,अध्यक्ष श्रेष्ठले भने,‘हामी निजी क्षेत्रले पनि सरकारलाई समस्या मात्र होइन, समाधान पनि लिएर जाने प्रतिबद्धता जनाउँछौँ। महासंघले अब केवल माग पेस गर्ने संस्था होइन, समाधानको साझेदार बनेर देखाउनेछ।’
नीतिगत स्थिरताका लागि निजी क्षेत्र आशावादी रहेको बताउँदै उनले स्थिर सरकार, स्थिर नीति, स्थिर लगानी वातावरण यो त्रिकोण नेपालको आर्थिक रूपान्तरणको आधार भएको उल्लेख गरे। ‘नेपालको आर्थिक रूपान्तरण न त सरकार एक्लैले गर्न सक्छ, न निजी क्षेत्र एक्लैले गर्न सक्छ। यो सहकार्य र साझेदारीको परिणाम हो’, अध्यक्ष श्रेष्ठले भने,‘यो साझेदारीको नेतृत्व लिन महासंघ तयार छ।’
अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा महासंघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।
महासंघको संस्थागत क्षमता अभिवृद्धि गर्दै निजी क्षेत्रको साझा आवाजलाई अझ प्रभावकारी, विश्वसनीय तथा परिणाममुखी बनाउने उद्देश्यले तयार गरिएको ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रम तथा सोसँग सम्बन्धित विस्तृत कार्ययोजनालाई अध्यक्ष श्रेष्ठको पदबहालीसँगै कार्यान्वयनमा ल्याइने महासंघले जनाएको छ।
महासंघले आगामी कार्यकालमा निजी क्षेत्रको हकहित संरक्षण, उद्योग–व्यवसाय प्रवर्द्धन, लगानीको सुरक्षा तथा विस्तार, नीति पैरवीको प्रभावकारिता अभिवृद्धि, संघीय संरचनाअनुसार सदस्य संस्थाहरूसँगको समन्वय सुदृढीकरण, सेवा प्रवाहको आधुनिकीकरण, डिजिटल प्रणालीको विकास, युवा उद्यमशीलता तथा नवप्रवर्तन प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक कूटनीतिक सम्बन्ध विस्तार लगायतका विषयलाई समेटी ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रम तयार भएको छ।
प्रत्येक स्तम्भअन्तर्गत कार्यान्वयनयोग्य पहलहरू, समयसीमा, जिम्मेवारी निर्धारण तथा अपेक्षित उपलब्धिसहितको विस्तृत कार्ययोजना समेत तयार गरिएको र यसलाई अध्यक्षको पदबहालीसँगै चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने निर्णय भएको हो।