काठमाडौं। वैदेशिक रोजगारीका समस्या समाधान गर्न एउटै मैदानमा हुनुपर्ने अवस्थामा नेपाल वैदेशिक रोजगार संघ आन्तरिक कलहमा फसेको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नेतृत्वमा बनेको सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन भन्दै विभिन्न निर्णयहरु सार्वजनिक गरिरहेका बेलामा संघभित्र विवाद उत्कर्षमा पुगेको हो।
सरकार ‘फ्रि भिजा’को नीतिलाई कार्यान्वयन गराउन जोड दिने, श्रमिकसँग लिएको सेवा शुल्कलाई बैंकिङ प्रणालीबाट मात्र कारोबार गरी त्यसको प्रमाण सुरक्षित राख्न निर्देशन दिइरहेको अवस्थामा संघभित्र वर्तमान अध्यक्षको कार्यशैली संस्थागतभन्दा व्यक्तिगत हाबी भएको भन्दै विवाद उत्कर्षमा पुगेको हो। निजी कम्पनीको शैली तथा निर्णय प्रक्रिया निष्पक्ष पारदर्शी र सामुहिक नहुनु तथा आर्थिक कारोबारलाई लिएर अहिले विवाद उत्पन्न भएको थियो।
वैदेशिक रोजगार व्यवसाय तथा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको हकहित र संरक्षणलाई पर्याप्त प्राथमिकता नदिइनु स्वकेन्दित ढगंले निर्णय गर्नु, संघको नाम इज्जत र प्रतिष्ठासँग जोडिएका व्यक्तिहरुलाई बदनाम गर्ने गतिविधि पटक-पटक दोेहोर्याउनुलगायत कारण संघभित्र व्यवसायीबीच तिक्तता आएको वैदेशिक रोजगार व्यवसायीले बताएका छन्।
विवाद समाधान नभएपछि गत केही दिनअघि पाँच पदाधिकारीसहित ११ जनाले गुरुङ नेतृत्वको वर्तमान कार्यसमितिबाट सामूहिक राजीनामा दिएका छन्।
नाम नखुलाउने सर्तमा संघका अध्यक्ष भुवन सिंह गुरुङको आर्थिक कारोबारको अनियमितता तथा मनोमानी ढगंले चल्दा समस्या उत्पन्न भएको एक पदाधिकारीले बताए। अर्का व्यवसायीले अध्यक्षको कार्यशैली र महासचिव महेशकुमार बस्नेतबीच विवादमा उत्कर्षमा पुगेपछि यस्तो स्थिति आएको बताए। ‘अहिले अध्यक्षलाई हटाउने खोजिएको हो। अहिले एउटा पक्षलाई हटाउनुपर्छ भन्ने छ, भने अर्को हटाउनु हुन्न भन्ने छ। हामीले मिलाउन प्रयास गरे पनि मिल्न सकेको छैन्,’ उनले भने।
विवाद समाधान नभएपछि गत केही दिनअघि पाँच पदाधिकारीसहित ११ जनाले गुरुङ नेतृत्वको वर्तमान कार्यसमितिबाट सामूहिक राजीनामा दिएका छन्। यसरी राजीनामा दिने पदाधिकारीमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव बस्नेत, सचिव कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्ष धनमाया सिञ्जाली छन्। यस्तै, सदस्यहरुमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले पनि राजीनामा दिएका छन्।
सामूहिक राजीनामा बुझाएकाहरु राजीनामा फिर्ता लिएर ब्याक हुने स्थितिमा देखिँदैनन्। उनीहरुले राजीनामाको प्रसंग जिल्ला प्रशासन कार्यालयलाई गराइसकिएकाले अब प्रशासनले किनारा लाउने व्यवसायीको भनाइ छ।
यता अध्यक्ष गुरुङलाई संघमा किन विवाद झाँगिएको भनेर प्रश्न गर्दा संघभित्र अनावश्यक राजनीति र केही व्यक्तिको स्वार्थ समूहको प्रपञ्च रचेको संज्ञा दिए। आफ्नो कार्य क्षमतामाथि प्रश्न उठाउँदै राजीनामा मागिएको विषयमा स्पष्टीकरण दिँदै उनले आफू विधिको शासन र आम व्यवसायीको हितविपरीत कुनै पनि क्रियाकलाप नगरेको दाबी गरेका छन्।
आर्थिक अनियमितताको आरोपलाई पूर्ण रूपमा खण्डन गर्दै गुरुङले महासंघमा हुने सबै खर्चको अडिट र विधि हुने भएकाले त्यसमा कुनै शंका नगर्न आग्रह गरे।
संघभित्र अध्यक्षको राजीनामा माग्ने र कार्यसमिति विघटन गर्ने प्रयास भइरहेको चर्चाबीच अध्यक्ष गुरुङले आफूसँग अझै स्पष्ट बहुमत रहेको दाबी गर्दै कार्यसमिति विघटन गर्ने षड्यन्त्र बुनिए पनि त्यो सफल हुन नसकेको बताए। ‘व्यक्तिगत स्वार्थका कारण सबै तथ्यहीन र प्रमाणहीन आरोप हो। मलाई एकलौटी निर्णय गरेको एउटा मात्र प्रमाण देखाउनुस्, म कारबाही भोग्न तयार छु,’ उनले क्यापिटल नेपालसँग भने।
आर्थिक अनियमितताको आरोपलाई पूर्ण रूपमा खण्डन गर्दै गुरुङले महासंघमा हुने सबै खर्चको अडिट र विधि हुने भएकाले त्यसमा कुनै शंका नगर्न आग्रह गरे। उनले आफ्नो कार्यकालमा जापानको एसएसडब्लु सम्बन्धी विभेदकारी कार्यविधि खारेजी र स्वास्थ्य परीक्षण शुल्कमा गरिएको कटौती जस्ता विषयमा काम गरेको बताए। वैदेशिक रोजगारको क्षेत्रमा भएका सिन्डिकेट र अन्यायपूर्ण निर्णयविरुद्ध उभिएका कारण केही व्यक्तिको स्वार्थ केन्द्रित सोचका कारण आफूलाई असफल बनाउन खोजेको उनको तर्क छ।
संघभित्र विवादको शृङ्खला उच्च हुँदै गएपछि असन्तुष्ट पक्षले सामूहिक राजीनामा दिएको हल्ला फैलाए पनि उनीहरू छलफलका लागि बैठकमा उपस्थित नभएको भन्दै अध्यक्ष गुरुङले गुनासो गरे। ‘मैले तीन पटकसम्म चिठी काटेर बैठकमा बोलाएँ, तर उहाँहरू कहिले खुट्टा दुख्यो, त कहिले टाउको दुख्यो भन्दै आउनुभएन। बाहिर चाहिँ काम गर्न दिएन भन्दै भ्रम फैलाइरहेको छ,’ उनले भने।