काठमाडौं। पहिलो पटक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक छनौट हुँदै छ। खुल्ला प्रतिस्पर्धामार्फत नियुक्ति गर्ने पर्यटनमन्त्री खड्गराज पौडेल (गणेश)को चाहनाअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यानको महानिर्देशक छनौटका लागि वैशाख २८ र २९ गते अन्तर्वार्ता र प्रस्तुतीकरण लिएको छ।
चार वर्षे कार्यकालका लागि महानिर्देशक बन्न मन्त्रालयका कर्मचारीदेखि क्यानका कर्मचारीहरु गरी २१ जनाले आवेदन दिएका थिए। उनीहरु सबैलाई सर्टलिष्टमा राखेर अन्तर्वार्ता र प्रस्तुतीकरण सम्पन्न भएको छ। अन्तर्वार्ता सम्पन्न भए पनि हालसम्म को छनौट भए? भन्ने जानकारी गराएको छैन।
अन्तर्वार्तामा छैन विज्ञ टिम
पर्यटन मन्त्री पौडेलले प्राधिकरणको महानिर्देशक छनौटका लागि पर्यटन सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा तीन जनाको समिति गठन गरिएको थियो। उनको समितिमा पुल्चोक क्याम्पस र त्रिभुवन विश्व विद्यालयका प्रोफेसरहरु रहेका थिए। तीमध्ये एक जना मनोविद् र अर्का एक जना इन्जिनियरीङ हुन्। उनीहरुको नाम सार्वजनिक गरिएको छैन।
मुलुकका एक मात्र हवाई क्षेत्रको नियामकीय निकायको प्रमुख छनौटका लागि अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रका ज्ञाताहरुलाई छनौट समितिमा राख्नु पर्नेमा त्यससँग सम्बन्धित नै नभएका व्यक्तिहरु राखिएको छ।
अन्तर्वार्तामा सहभागी एक प्रतिस्पर्धीका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सबै क्षेत्रमा प्रतिस्पर्धा गरेर राख्ने नीतिलाई पर्यटन मन्त्रालयले झारो टार्ने काम मात्र गरेको देखिन्छ। कुनै विज्ञहरु नभई असम्बन्धित व्यक्तिहरुबाट लिएको अन्तर्वार्ता र छनौट भएर आएका व्यक्तिहरुले उड्डयन क्षेत्रको नियमन कसरी गर्न सक्छन्? भन्नेमा प्रश्न उठ्ने गरी काम भएको ती व्यक्तिको भनाइ छ।
प्राधिकरणका एक पूर्वमहानिर्देशकले छनौट समितिमा विज्ञहरुको कमी भएको बताउँछन्। ‘जो जति बस्नु भएको थियो। उहाँहरुको क्षेत्रका लागि विज्ञ भए पनि हवाई क्षेत्रका लागि नयाँ व्यक्तिहरु हुन्,’ नाम नलेख्ने सर्तमा ती पूर्वमहानिर्देशकले भने, ‘बरु विदेशीहरुलाई नै ल्याएर अन्तर्वार्ता गराएको भए हुन्थ्यो। तर, अहिले भएको राम्रो भएन, आशा गरौँ, बुझेको मान्छे छनौटमा पर्नु हुनेछ।’
अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक रुपमा अगाडि बढ्नुपर्ने हवाई क्षेत्रको नियमन र कार्यान्वयन गर्ने निकायको छनौटमा नै आशंका उत्पन्न हुने गरी काम भएकोप्रति दुखेसो पोख्न थालेका छन्।
अन्तर्वार्तामा पनि प्राविधिक विषयभन्दा बढी प्रशासनिक प्रश्नहरु सोधिएको थियो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले जारी गरेको नीति नियमहरु, युरोपियन युनियन (ईयु)ले लामो समयदेखि नेपाली आकाशलाई कालो सूचीमा राखेको र त्यसलाई कसरी हटाउने भन्ने विषयदेखि हवाई उडानलाई धेरैभन्दा धेरै सुरक्षित कसरी बनाउने विषयहरुमा जोड दिनुपर्नेमा प्रशासनिक विषयहरुलाई मात्र अन्तर्वार्तामा जोड दिइएको अन्तर्वार्तामा सहभागीको भनाइ छ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिले हुने क्रम तीव्र रुपमा बढिरहेको छ। जसका कारण एकातिर यात्रुहरुलाई तनाव हुने र अर्कोतर्फ एयरलाइन्सले लामोसम्म डिले भएर बस्दा इन्धनको खपत व्यापक हुनेसँगै जनआक्रोश भोग्नु परेको छ।
महानिर्देशक बन्न चाहनेहरुले त्यो समस्यालाई कसरी समाधान गर्नेसँगै पोखरा र भैरहवामा निर्माण गरी पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको अन्तर्राष्ट्रिय विमानस्थललाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने योजनाहरु माग्नुपर्नेमा त्यो विषयमा कुनै प्रवेशनै नभएको सहभागीको भनाइ छ।
१० मिनेटको प्रस्तुतीकरण , २० मिनेटको अन्तर्वार्ता
चार वर्षका लागि हवाई क्षेत्रको नियामकीय निकायको प्रमुख छनौटका लागि जम्मा ३० मिनेटको समय दिएको थियो। त्यसमा १० मिनेटको प्रस्तुतीकरण र २० मिनेटको अन्तर्वार्ता थियो। जबकी चार वर्षमा के–के गर्ने र कसरी प्राधिकरणलाई चुस्त बनाउने योजना बुझाउन १० मिनेटको समय अपुग हुन्थ्यो। तर, समयको चापको कारण देखाउँदै अन्तर्वार्ता लिनेहरुले हतारहतार गरी लिएको र सुन्नुपर्ने कतिपय विषयहरु नसुनेको आरोप लागेको छ।
यता, छनौट समितिका संयोजक एवं पर्यटन सचिव निरौलाले पहिलो पटक खुल्ला प्रतिस्पर्धामार्फत छनौट गरिँदा केही अलमल भएको स्वीकार गरे। ‘जो–जो छनौट समितिमा हुनुहुन्छ, उहाँहरु आफैँमा विषय विज्ञ भएकोले राखिएको हो,’ पर्यटन सचिव निरौलाले भने, ‘पूर्वमहानिर्देशकहरु राख्दा स्वार्थ बाझिने र चिनेजानेका हुने भएकाले नराखिएको हो।’
प्राधिकरण सञ्चालनका लागि प्रशासनिक र मनोविज्ञानको ज्ञान महत्वपूर्ण भएकाले त्यस्तै खालका व्यक्तिहरुलाई विज्ञको रुपमा राखिएको उनले बताए। समयको विषयमा उनले एयरलाइन्सबारे तत्कालै निर्णय लिनुपर्ने भएकाले समय व्यवस्थापन कसरी गरिँदो रहेछ भन्ने बुझेको जानकारी दिए।