काठमाडौं। विश्वविख्यात आतिथ्य समूह म्यारियट इन्टरनेशनलको प्रतिष्ठित ब्रान्ड 'जे डब्ल्यू म्यारियट' पहिलोपटक नेपाल आउने भएको छ। एमएस समूहअन्तर्गतको क्यापिटल होटल एण्ड हस्पिटालिटी लिमिटेडले म्यारियट इन्टरनेशनलसँग होटल व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेसँगै नेपालको विलासिता आतिथ्य क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ। सम्झौताअनुसार 'जे डब्ल्यू म्यारियट होटल काठमाडौं' सन् २०३१ को सुरुवातमा सञ्चालनमा आउनेछ। यो दुवै कम्पनीबीचको चौथो सहकार्य हो।
२ सय २१ कोठा, १६ वर्गमिटरकाे सभाहल
नयाँ होटलमा दुई सय एक्काइस विलासितापूर्ण कोठा रहनेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पन्ध्र मिनेटको दूरीमा अवस्थित यो होटलमा बहु-भोजनालय, स्पा, व्यायामशाला, पौडी पोखरी र विशेष बगैँचा रहनेछ। यस्तै सोह्र सय वर्गमिटरभन्दा बढी कार्यक्रम सञ्चालन स्थल पनि हुनेछ। काठमाडौंका युनेस्को विश्व सम्पदा सूचीका ऐतिहासिक स्थलहरूसँग यसको सहज पहुँच रहनेछ।

गौरव अग्रवाल र राज मेनन बीच हस्ताक्षर
सम्झौतामा क्यापिटल होटलका सञ्चालक तथा प्रबन्ध निर्देशक गौरव अग्रवाल र म्यारियट एसिया प्रशान्तका अध्यक्ष राज मेननले हस्ताक्षर गरे। यसैगरी क्यापिटल होटलतर्फबाट शशिकान्त अग्रवाल र म्यारियट इन्टरनेशनल तर्फबाट डेभिड म्यारियटबीच पनि सम्झौता आदानप्रदान भयो। सांसद मिङमा डेभिड शेर्पाले समारोहमा विशेष साक्षीको रूपमा उपस्थित भई कार्यक्रमलाई गरिमामय बनाए। यस अवसरमाअग्रवालले भने, "म्यारियटसँग पुनः साझेदारी गर्दै नेपालको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने एक विशेष होटल निर्माण गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ। हाम्रो देशको संस्कृति र आत्मालाई विश्वस्तरीय आतिथ्यसँग जोड्दै अविस्मरणीय अनुभव प्रदान गर्नु नै हाम्रो लक्ष्य हो।"
१४५ देशमा ९ हजार ८ सयभन्दा बढी होटल
म्यारियट इन्टरनेशनल विश्वका एक सय पैँतालीस देश र क्षेत्रहरूमा नौ हजार आठ सयभन्दा बढी होटल सञ्चालन गर्दै आएको विश्वकै अग्रणी आतिथ्य सेवा प्रदायक कम्पनी हो। यस्तो प्रतिष्ठित ब्र्यान्डको नेपाल प्रवेशले देशमा उच्चस्तरीय पर्यटकहरूलाई आकर्षित गर्ने र हजारौं नेपालीका लागि रोजगारीको नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।