काठमाडौं। सस्तो मूल्यमा आकर्षक एसयूभी बीवाईडी एटो २ ले नेपाली बजारमा अहिले तहल्कै मच्चाइरहेको छ। उसै पनि बीवाईडी एटो ३ ले नेपाली बजारमा उत्कृष्ट प्रतिक्रिया पाउँदै बजारमा प्रभुत्व जमाइरहेका बेला एटो २ ले झनै राम्रो प्रभाव देखाइरहेको हो।
जबकि अन्य ब्रान्डका गाडी बिक्री नभएर स्टकमा राखिराख्नु परिरहेका बेला एटो २ गाडी ग्राहकलाई उपलब्ध गराउनै मुस्किल भइरहेको छ।
अहिले बीवाईडीका गाडीमध्ये सबैभन्दा बढी एटो २ को माग बढिरहेको साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमको भनाइ छ। अहिले एटो २ को मात्र १ हजार १०० भन्दा बढी गाडी बुकिङ रहेको उनले बताए। बुकिङको आधारमा २५० जति गाडी आउदा ग्राहकलाई दिनै धौधौ हुन थालेको उनको भनाइ छ।
‘अहिले जनवरीमा बुक भएका ग्राहकलाई गाडी दिँदै आएका छौं, अरुलाई पनि क्रमशः दिँदै जानेछौं,’ नेसनल सेल्स हेड गौतमले भने, ‘सबै डिलरबाट गाडीका लागि फोन आइरहेको हुन्छ, सहज रुपमा उपलब्ध गराउन सकिएको छैन।’
बुकिङ गरेको लामो समयदेखि गाडी नपाएपछि अहिले ग्राहकले विभिन्न सोरुममा गएर सोधखोज गर्न थालेका छन्। ‘बल्लतल्ल एकाध गाडी सोरुममा आउँछन्, त्यो पनि हारालुछ हुन्छ,’ एक बिक्रेताले भने, ‘मागअनुसार दिन नसक्दा समस्या भइरहेको छ।’
किन बढ्यो एटो २ मा आकर्षण?

एटो ३ र डल्फिन गाडीपछि एटो २ सार्वजनिक भयो। यो गाडी नेपाली बजारमा मूल्य र ग्राउन्ड क्लिरियन्सको हिसाबले अत्यन्त राम्रो र प्रभावकारी देखिएको छ। गाडीको लम्बाइ ४,३१० एमएम, चौडाइ १,८३० एमएम, उचाइ १,६७५ एमएम र ह्विलबेस २,६२० एमएम रहेको छ। २०० एमएमको ग्राउन्ड क्लियरेन्सले यसलाई नेपाली सडकका लागि उपयुक्त बनाएको कम्पनीको भनाइ छ।
नेपालमा अत्याधिक रुचाइएको एटो थ्री एड्भान्स मोडलभन्दा ठूलो ब्याट्री रहनु थप बलियो पक्ष भएको देखिन्छ। एटो २ मा ५१ किलोवाटको ब्लेड ब्याट्री छ। पावर पनि १०० किलोवाटकै मोटरमा उपलब्ध छ। यसको पिकटर्क २९० न्यूटन मिटर छ। एटोथ्रीकै जस्तो फ्रन्ट ह्वील मोटर छ।
सिंगल चार्जमा ३४५ किलोमिटर डब्लूएलटीपी रेन्ज दाबी गरिएको एटो २ रेन्जको मामलामा पनि राम्रो देखिएको छ। अर्को महत्वपूर्ण कुरा बीवाइडीले नेपालमा बनाएको ब्रान्ड नेम, बिक्री नेटवर्क, चार्जिङ पूर्वाधार र सर्भिस नेटवर्कले पनि सपोर्ट गर्छ।
यसको बाहिरी डिजाइन आकर्षक र बोल्ड देखिन्छ। फुल एलईडी हेडलाइट, फ्लोटिङ रुफलाइन र पछाडिको भागमा अंग्रेजी अक्षर ‘ड’ जस्तो देखिने ‘मोबियस इन्फिनिटी रिङ’ डिजाइनको रुफ स्पोइलरले यसलाई युवापुस्तामाझ लोकप्रिय बनाउने कम्पनीको अपेक्षा छ।
सुरक्षाको हिसावले एटो २ मा लेभल टु एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम जडान गरिएको छ। जसमा एडेप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, अटो इमर्जेन्सी ब्रेकिङजस्ता अत्याधुनिक फिचर समावेश छन। यसका साथै ६ ओटा एयरब्याग, ३६० डिग्री भ्यु मोनिटर र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले यसलाई आफ्नो सेग्मेन्टमा सुरक्षित गाडीको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ।
बीवाईडी एट्टो २ को सुरुआती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसमा ७ किलोवाटको वाल–माउन्टेड चार्जर पनि समावेश छ।