काठमाडौं। विश्वव्यापी राइड सेयरिङ एप उबरले आजदेखि नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ। कम्पनीले काठमाडौंमा कार्यक्रम गरी सेवा सुरु भएको घोषणा गरेको हो।
दक्षिण एसियाका तीव्र गतिमा विकसित हुँदै गएका सहरी बजारमध्ये नेपालमा विश्वसनीय यातायात प्लेटफर्म उपलब्ध गराउने प्रयासस्वरुप सेवा सुरु गरिएको कम्पनीले बताएको छ। यो सुरुआतसँगै नेपाल उबरको एप्याक क्षेत्रको ११औँ बजार बनेको छ। एक दशकयता दक्षिण एसियामा उबरले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ, जसले उबरको विश्वव्यापी विस्तार यात्रामा यस क्षेत्रको रणनीतिक महत्त्वलाई थप सुदृढ बनाएको छ।

नेपालमा उबरले चारपांग्र्रे सवारीअन्तर्गत उबर गो र र उबर कम्फर्ट तथा दुईपांग्र्रे सवारीअन्तर्गत उबर बाइक सेवा सञ्चालनमा ल्याएको छ। यी सेवाले यात्रुलाई शहरभित्र आवतजावतका लागि सरल, भरपर्दो र सहज विकल्प प्रदान गर्नेछन्।
नेपाल अब ७० भन्दा बढी देशमा फैलिएको उबरको विश्वव्यापी सञ्जालको हिस्सा बनेको छ। यसले यात्रुलाई विश्वका प्रायः जुनसुकै स्थानमा पनि एउटै परिचित एपमार्फत यात्रा गर्न सकिने सुविधा दिन्छ। काठमाडौंभित्र दैनिक आवतजावत होस् वा अन्तर्राष्ट्रिय यात्रा, यात्रुले एउटै एपमार्फत सहज रूपमा सेवा लिन सक्नेछन्।
उबरको एशिया–प्रशान्त क्षेत्र (ब्एब्ऋ) का राइड्स विभागका क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलर ले भने, ‘हामी नेपालमा उबर सेवा सुरु गर्न पाउँदा उत्साहित छौँ र नेपाललाई उबरको विश्वव्यापी मोबिलिटी बजारको सञ्जालमा स्वागत गर्दछौँ। बढ्दो डिजिटल पहुँच, शहरी यातायातको आवश्यकता र फस्टाइरहेको पर्यटन अर्थतन्त्रले नेपाललाई एक गतिशील तथा तीव्र रूपमा विकसित भइरहेको बजार बनाएको छ।
दक्षिण एसियामा एक दशकयता हाम्रो पहिलो नयाँ बजारका रूपमा नेपालले उबरको विकास यात्रामा महत्त्वपूर्ण कोसेढुंगाको प्रतिनिधित्व गर्दछ। हामी नेपालका यात्रु, चालक र पर्यटकहरूको बदलिँदो आवश्यकता पूरा गर्न योगदान पुर्याउने अपेक्षा राख्दछौँ।’
नेपालमा उबरको सुरुवातलाई स्वागत गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले भने, ‘पर्यटन नेपाली अर्थतन्त्रको प्रमुख आधारहरूमध्ये एक हो र यातायात तथा पहुँचको सहजताले यस क्षेत्रको भावी विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। विश्वका ८० भन्दा बढी देशका लाखौँ यात्रुले प्रयोग गर्ने विश्वसनीय प्लेटफर्मको रूपमा उबरको नेपाल आगमनले अन्तर्राष्ट्रिय पर्यटन नक्सामा नेपालको स्थानलाई थप मजबुत बनाउनेछ। यो सेवाले विदेशी पर्यटक तथा नेपाली नागरिक दुवैका लागि यात्रालाई अझ सहज र सुविधाजनक बनाउने विश्वास लिएका छौँ।’

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय सचिव गोपाल प्रसाद सिग्देल ले भने, ‘सरकार उबर आधुनिक, डिजिटल र समावेशी यातायात प्रणाली निर्माणतर्फको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हो। उबरको प्रवेशले नेपालको आर्थिक सम्भावनाप्रति अन्तर्राष्ट्रिय विश्वास बढिरहेको तथा विश्वव्यापी लगानी र व्यवसायका लागि अनुकूल वातावरण निर्माण गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ। हामी दिगो पूर्वाधार निर्माणमा केन्द्रित भइरहेका बेला स्मार्ट मोबिलिटी समाधानहरूले महत्त्वपूर्ण भूमिका खेल्नेछन्। यस पहललाई हामी दिगो रोजगारी सिर्जना, शहरी यातायात सुधार तथा पर्यटन क्षेत्रको समृद्धिका लागि उत्प्रेरकका रूपमा हेर्दछौँ।”
नेपालको मोबिलिटी (यातायात) प्रणाली पछिल्ला वर्षहरूमा तीव्र रूपमा विकसित भएको छ। स्मार्टफोनको बढ्दो प्रयोग, उपभोक्ताहरूको बदलिँदो अपेक्षा, पर्यटन क्षेत्रको विस्तार तथा सहज शहरी यातायातको मागका कारण यो परिवर्तन सम्भव भएको हो।