काठमाडौं। राजश्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पेस गरिएको छ। अर्थ मन्त्रालयका सचिव (राजस्व)को संयोजकत्वमा गठित राजस्व परामर्श समितिले आफ्नो सुझावसहितको प्रतिवेदन अर्थमन्त्री वाग्लेसमक्ष पेस गरेको हो।
आर्थिक वर्ष २०८३।८४ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्य लगायतका नीतिगत दस्ताबेजमा समावेश गर्नुपर्ने राजस्व नीति, कर सम्बन्धी कानुन, करका दर, राजस्व प्रशासनको संगठनात्मक संरचना र कार्यप्रक्रिया सुधारसँग सम्बन्धित विषयमा अध्ययन गरी सुझाव पेस गर्नका लागि राजस्व परामर्श समिति गठन गरिएको थियो।
प्रतिवेदन पेस गर्ने क्रममा समितिका सदस्यहरूले प्रतिवेदनमा सम्भव भएसम्मका कार्यान्वयनयोग्य सुझावहरू समावेश रहेकाले आगामी आर्थिक वर्षको बजेटमा ती सुझावहरूलाई यथोचित सम्बोधन हुने अपेक्षा गरिएको बताए।
प्रतिवेदन पेस गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष, नेपाल आर्थिक संघका अध्यक्ष, विज्ञ सदस्य, भवनाथ दाहाल लगायत अन्य सदस्यहरूले आफ्ना धारणा राखेका थिए।
समितिका संयोजक तथा अर्थ मन्त्रालयका सचिवले अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस गर्दै वर्तमान परिवर्तित समयानुकूल सुझावहरू समितिको प्रतिवेदनमा समेटिएको बताए।
प्रतिवेदन बुझ्दै अर्थ मन्त्रीले समितिले लामो समय अध्ययन तथा विश्लेषण गरी पेस गरेको प्रतिवेदनले आगामी बजेट तथा राजस्व नीति निर्माणलाई महत्त्वपूर्ण दिशानिर्देश तथा पृष्ठपोषण प्रदान गर्ने अपेक्षा गर्दै सिफारिस गरिएका कार्यान्वयनयोग्य सुझावहरूलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे।