काठमाडौं। महालेखापरीक्षक कार्यालयले विद्युतीय कार (ईभी) आयातमा थप साढे २ अर्ब रुपैयाँ बेरुजु देखाएको छ। महालेखाले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनमा आव २०८१/८२ मा रसुवागढी र तातोपानी भन्सारबाट ईभी कार आयात गर्दा २ अर्ब ५० करोड ८३ लाख १६ हजार रुपैयाँ छुट दिएको उल्लेख गरेको हो।
महालेखाका अनुसार रसुवा भन्सार कार्यालयबाट १ अर्ब २७ करोड २७ लाख र तातोपानी भन्सार कार्यालयबाट १ अर्ब २३ करोड ५५ लाख रुपैयाँ बराबरको राजस्व छुट दिइएको छ। महालेखाको प्रतिवेदनअनुसार ईभी आयातकर्ताहरूले सवारीसाधनको ‘पिक मोटर पावर’ कम देखाएर न्यून भन्सार दरमा जाँचपास गराएको जनाएको छ।
विद्युतीय सवारीसाधनमा लाग्ने भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर मोटरको पिक पावरका आधारमा फरक–फरक दरमा निर्धारण गरिन्छ। विद्युतीय सवारीसाधन भन्सार महसुल ऐन, २०८१ को अनुसूची–३ अनुसार ५० देखि १०० किलोवाटसम्मका ईभीमा २० प्रतिशत भन्सार महसुल र १५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था छ। यस्तै, १०० देखि २०० किलोवाटसम्मका सवारीसाधनमा ३० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क लाग्छ।
प्रतिवेदनले विभिन्न आयातकर्ताले विद्युतीय सवारीसाधन आयात गर्दा पेस गरेको बीजकमा उल्लिखित पिक पावरको आधारमा भन्सार जाँचपास हुने गरेकोमा जडित मोटरको क्षमताको प्राविधिक जाँच नगरेको जनाएको छ।
इभीको मोटर पावर क्षमताको प्राविधिक जाँच गर्ने यन्त्र र उपकरण सरकारसँग भने छैन। व्यवसायीहरुले भने उपकरण नै नभएको अवस्थामा उत्पादक कम्पनी र देशले दिएको प्रमाण पत्र नै भन्सार र यातायात कार्यालयमा बुझाएको दाबी गर्दै आइरहेका छन्। प्रतिवेदनमा यातायात व्यवस्था विभागले समेत मोटर क्षमता परीक्षण नगरी केवल सवारीसाधन सडकमा चलाउन योग्य रहेको प्रमाणपत्र मात्र प्रदान गर्ने गरेको उल्लेख छ। यसले आयातकर्ताले घोषणा गरेको मोटर क्षमताको स्वतन्त्र पुष्टि नहुने अवस्था सिर्जना भएको महालेखापरीक्षकको दाबी छ।
कुन कुन ब्रान्डमा कति भेटियो?
महालेखाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार व्यवसायीले ‘पिक मोटर पावर’ कम देखाएर भन्सार जाँचपास गरी कर छुट लिएको उल्लेख गरेको छ। विभिन्न देशबाट सवारी आयात गर्दा आयातकर्ताले पेश गरेको कागजात अन्तर्राष्ट्रिय वेबसाइट, उत्पादक कम्पनीको क्याटलग र निर्यात विवरणसँग भिडान गर्दा नेपालमा आयात गरिएका ईभी कारमा ठूलो अन्तर भेटिएको महालेखाले जनाएको छ।
नामी बक्स
तातोपानी भन्सार कार्यालयबाट एमएडब्लु वृद्धिले चीनबाट नामी बक्स गाडी आयात गर्दा पिक मोटर पावर ५० किलोवाट उल्लेख गरी जाँचपास गरेको महालेखाले उल्लेख गरेको छ। उक्त गाडीको वास्तविक पिक मोटर पावर सम्बन्धमा यातायात व्यवस्था विभागले समेत परीक्षण नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनमा भनिएको छ ‘उक्त गाडीको उत्पादक कम्पनीको नेपाली संस्करण डोङफेङ नेपालको वेबपेजमा उपलब्ध ब्रोसरमा उक्त सवारीसाधनको अन्य सबै विशेषता समान रहेको र पिक मोटर क्षमता ७० किलोवाट रहेको देखिन्छ।
साथै पैठारीकर्ताले समेत अन्य विभिन्न कारोबारमा सोही मोडलको सवारीको पिक मोटर क्षमता ५० देखि १०० सम्म रहेको भनी उपशीर्षक ८७०३.८०.५९ बाट समेत जाँचपास गरेको देखिन्छ। तसर्थ उक्त सवारीसाधनलाई भन्सार उपशीर्षक ८७०३.८०.५९ (विद्युतीय मोटरको पिकअप पावर ५० किलोवाट भन्दा बढी तर १०० किलोवाट ननाघेको कार, जीप, भ्यान) बाट जाँचपास गरी भन्सार महशुल २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशतअनुसार हुने महसुल १७ करोड ४१ लाख २९ हजारका सम्बन्धमा छानबिन गरी असुल गर्नुपर्दछ।’
दीपलः
दीपल, ज्याक ६ र अन्य: एमएडब्लू वृद्धिले नेपालमा बेच्ने दीपल इ ०७ को पिक मोटर पावर २५२ किलोवाट र ज्याक जे ६ को २०५ किलोवाट रहेको अन्तर्राष्ट्रिय विवरणमा देखिए पनि नेपालमा २०० किलोवाटभन्दा कम देखाएर आयात गरिएको छ।
जीकर एक्सः
महालेखाले प्रतिवेदनमा भनिएको छ ‘तातोपानी तथा रसुवा भन्सार कार्यालयबाट एक पैठारीकर्ताले चीनबाट पैठारी गरेको जीकर एक्स मोडलको सवारीसाधन पिक मोटर पावर २०० किलोवाट उल्लेख गरी भन्सार उपशीर्षक ८७०३.८०.६९ बाट जाँचपास गरेको छ। उक्त सवारीसाधन उत्पादकको वेबपेजमा रहेका क्याटलग लगायतमा चीन वा अन्य देशहरूमा निकासी गरेका मालवस्तुको विवरण परीक्षण गर्दा उक्त मोडलको सवारीसाधनको ब्याट्री क्षमता ६६ किलोवाट, अधिकतम टर्क ५१२ एनएम, रियर हिल ड्राइभ र पिक मोटर क्षमताको हकमा २७२ पिएस प्फर्डस्टर्क (अश्व शक्ति) अर्थात् २००.०६ किलोबाट हुने देखिन्छ।’
एक्स ३० एलईभी र प्यासेन्जर भ्यान
एलएस अटोले नेपाल भित्र्याउने एलईभीमा मोटर पावर घटाएर आयात गरिएको महालेखाले औंल्याएको छ। प्रतिवेदनमा तातोपानी भन्सार कार्यालयबाट आयात गरिएको एक्स ३० एलईभी प्यासेन्जर भ्यानको पिक मोटर पावर ५० किलोवाट देखाई भन्सार उपशीर्षक ८७०३.८०.२९ बाट जाँचपास गरेको भनिएको छ। उक्त सवारीसाधनको उत्पादक वा अन्य स्वतन्त्र जाँचकीबाट मोटर क्षमतालाई पुष्टि गर्ने टेष्ट रिपोर्ट संलग्न नभएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ।
उत्पादक कम्पनीसमेतको वेबपेजमा रहेका क्याटलग लगायतमा चीन वा अन्य देशहरूमा निकासी गरेका मालवस्तुको विवरण परीक्षण गर्दा उक्त मोडलको सवारीसाधनको ब्याट्री क्षमता ४१.८६ तथा ३२.१४ किलोवाट र भ्यानको कुल पिक मोटर पावर ६० किलोवाट रहेको देखिन्छ। साथै नाडा अटो शोको अनलाइन ब्रोसर र वेबपेजमा समेत उक्त भ्यानको पिक मोटर पावर ६० किलोवाट रहेको उल्लेख भएको आधारमा भन्सार उपशीर्षक ८७०३.८०.५९ (विद्युतीय मोटरको पिकअप पावर ५० किलोवाट भन्दा बढी तर १०० किलोवाट ननाघेको कार, जीप, भ्यान) अन्तर्गत जाँचपास गरी भन्सार महसुल २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत लगाई छुट भएको ९ करोड ८० लाख ५१ हजार छानबिन गरी असुल गर्नुपर्ने उल्लेख महालेखाले गरेको छ।