काठमाडौं। प्राथमिकताका आधारमा नेपाल एयरलाइन्स(एनएसी) सञ्चालक समितिभन्दा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) महानिर्देशक पद महत्त्वपूर्ण मानिन्छ। मुलुकको एक मात्र हवाई उड्डयन क्षेत्रको नियामकीय निकाय विगत लामो समयदेखि निमित्तको भरमा सञ्चालनमा रहेको र पूर्ण रुपमा जिम्मेवारी नहुँदा अहिले लथालिंग अवस्थामा पुगेको छ।
तर, त्यही क्यानको सर्वोच्च निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने महानिर्देशक छनोटलाई भन्दा नेपाल एयरलाइन्स सञ्चालक सदस्य छनोटलाई प्राथमिकतामा दिएको पाइन्छ। अहिले मध्यपूर्वमा देखिएको तनावका कारण हवाई उड्डयन क्षेत्र संकटग्रस्त अवस्थामा पुगेको छ।
वायुसेवा सञ्चालक संघले लामो समयअघि नै प्राधिकरण र मन्त्रालयलाई पत्र पठाउँदै राज्यतर्फबाट पाइने सहुलियत दिन आग्रह गरेको थियो। तर, प्राधिकरणमा पूर्णकालीन महानिर्देशक नभएकै कारण उनीहरूको माग सम्बोधनको प्रक्रिया अघि बढ्न सकेको छैन।
यता, मन्त्रालयले नेपाल एयरलाइन्स सञ्चालक समिति सदस्य र प्राधिकरणको महानिर्देशक छनौटका लागि सगसगै लिएको परिक्षाको नतिजा अझै सार्वजनिक गर्न सकेको छैन। नेपाल एयरलाइन्स सञ्चालक समितिका लागि लिएको परीक्षाको ४ दिनमै नतिजा सार्वजनिक गरेको पर्यटन मन्त्रालयले ९ दिन लाग्दासमेत महानिर्देशकको कुनै टुंगो लगाउन सकेको छैन।
पर्यटन मन्त्रालयले नेपाल एयरलाइन्स सञ्चालक सदस्यका लागि बैशाख २७ गते परीक्षा लिएर ३१ गते नतिजा सार्वजनिक गरेको थियो। यता प्राधिकरणको भने वैशाख २९ गते परीक्षा लिएर पनि अहिलेसम्म नतिजा सार्वजनिक गर्न सकेको छैन।
हतारमा परीक्षा, नतिजामा सुस्त
प्राधिकरण महानिर्देशक पदका लागि २१ जनाले उम्मेदवारी दिएका थिए। उनीहरूलाई वैशाख २८ र २९ गते परीक्षा लिइएको थियो। परीक्षाका क्रममा १० मिनेट प्रस्तुति र २० मिनेट अन्तर्वार्ताका लागि छुट्याइएको थियो।
‘परीक्षा लिने बेला यति धेरै हतारो गर्नुभएको थियो कि राती नै नतिजा दिनुहोला भन्ने लागेको थियो,’ एक प्रतिस्पर्धीले भने, ‘तर, अहिले ९ दिन बित्न लाग्दासमेत कुनै चहलपहलै छैन।’
संख्याको आधारमा हेर्दा पनि नेपाल एयरलाइन्सको प्रतिस्पर्धीभन्दा प्राधिकरणको कम देखिन्छ। नेपाल एयरलाइन्समा २४ जनाले आवेदन दिएका थिए। उनीहरूले अहिले नियुक्तिपत्रसमेत बुझ्न मन्त्रालयले सार्वजनिक सूचना जारी भइसकेको छ।
किन भइरहेको छ ढिलाइ?
हवाई नियामक क्षेत्रको महानिर्देशक छनोटका लागि लिइएको अन्तरर्वार्ताकै क्रममा विज्ञहरू नराखेको भन्दै विरोध भएको थियो। हवाई उड्डयन क्षेत्रका विज्ञहरूलाई छनोटमा नराखी पर्यटन मन्त्रालयले आफूखुसी हवाई क्षेत्रभन्दा बाहिरका व्यक्ति राखेको भन्दै आलोचनासमेत भएको थियो।
यस विषयमा केही समयअघि नै पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले छनोट समिति पर्यटन मन्त्रीले नै विज्ञहरूलाई छनोट गरेको प्रतिक्रिया दिएका थिए। उनले हवाई क्षेत्रका विज्ञहरू राख्दा स्वार्थ बाझिने भएकाले पनि बाहिरबाट राखिएको तर्क गरेका थिए। सचिव आफैं छनोट समितिका संयोजक हुन।
यता, निर्णय सार्वजनिक गर्न किन ढिलाइ भएको हो भन्ने विषयमा जानकारी लिन पर्यटन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यसँग फोन सम्र्पक गर्दा फोन उठेन। नेपाल एयरलाइन्स सञ्चालक सदस्य छनोटलाई लिएर अहिले विभिन्न टीकाटिप्पणी भइरहेका बेला कतै महानिर्देशक छनोटमा पनि त्यस्तै हुन्छ कि भन्ने आशंका अहिले हुन थालेको छ।