काठमाडौं। अर्थ मन्त्रालयका अर्थसचिव घनश्याम उपाध्यायले अबको बजेटको मूल उद्देश्य सरकार आफैँ खर्च बढाउने होइन, निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्ने हुने बताएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थसचिव उपाध्यायले आगामी आर्थिक वर्षको बजेट निजी लगानी, उत्पादनशीलता र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर आउने स्पष्ट संकेत पारेका थिए।
उनले भने, ‘अब सरकारको प्रत्येक खर्चले निजी लगानीलाई तान्नुपर्छ। उत्पादन, रोजगारी र आर्थिक गतिविधि विस्तार हुने गरी बजेटको संरचना बनाइँदै छ।’ अर्थसचिव उपाध्यायका अनुसार सरकारले अब ‘क्राउड इन’ मोडलमा बजेट अघि बढाउने तयारी गरेको छ।
अर्थात् सरकारले गर्ने पूर्वाधार, नीति र सहजीकरणले निजी क्षेत्रलाई ठूलो मात्रामा लगानी गर्न प्रेरित गर्ने रणनीति लिइने छ। उनले विगतमा सिमेन्ट उद्योगसम्म पहुँच मार्ग र विद्युत् प्रसारण लाइन विस्तार गरिएकै कारण नेपाल सिमेन्ट तथा विद्युत्मा आत्मनिर्भर बन्न सफल भएको उदाहरण प्रस्तुत गर्दै अब यही मोडल अन्य उत्पादनशील क्षेत्रमा विस्तार गरिने बताए।
अर्थसचिव उपाध्यायले सरकार आफैँ व्यवसाय सञ्चालन गर्ने पुरानो सोचबाट बाहिर निस्कनुपर्ने धारणा पनि राखे। उनका अनुसार अब सरकारको भूमिका निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, लगानीमैत्री वातावरण बनाउने र प्रभावकारी नियमन गर्नेमा केन्द्रित हुनेछ।
‘सरकार व्यापारी बन्ने होइन, निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउने हो,’ उनले भने। उनले संसद दर्ता भइसकेको वैकल्पिक वित्तीय व्यवस्थापनसम्बन्धी विधेयक पारित भए आगामी बजेटमै निजी लगानीबाट निर्माण हुने सार्वजनिक पूर्वाधार आयोजनाको छुट्टै सूची समावेश गर्न सकिने जानकारी दिए।
यसले सरकारी ढुकुटीको सीमित स्रोतभन्दा बाहिर गएर निजी क्षेत्र, सहलगानी र नयाँ वित्तीय उपकरणमार्फत ठूला आयोजना अघि बढाउने बाटो खोल्ने विश्वास अर्थ मन्त्रालयको छ।