काठमाडौं। भारतको डिजिटल राजनीतिक इतिहासमा पछिल्ला दिनमा एउटा अनौठो नामले अभूतपूर्व चर्चा पाइरहेको छ–‘ककरोच जनता पार्टी’। पहिलो नजरमा यो कुनै सामाजिक सञ्जालको ठट्टा, ट्रोल अभियान वा क्षणिक भाइरल ट्रेन्डजस्तो देखिए पनि यसको प्रभाव, युवाहरूको सहभागिता र यसले उठाएका प्रश्नहरूले भारतीय राजनीति, न्याय प्रणाली, बेरोजगारी र लोकतान्त्रिक संरचनामाथि गम्भीर बहस सुरु गराएको छ।
यो अभियानले देखाएको सबैभन्दा ठूलो संकेत के हो भने आजको युवा पुस्ता परम्परागत राजनीतिक भाषा र शैलीबाट टाढिँदै गएको छ। उनीहरू अब केवल सडकमा नाराबाजी गरेर होइन, मीम, व्यंग्य, डिजिटल पोस्ट, भाइरल भिडियो र सामाजिक सञ्जालमार्फत सत्तालाई चुनौती दिन थालेका छन्।
ककरोच जनता पार्टीको सुरुआत एउटा विवादास्पद टिप्पणीबाट भएको मानिन्छ। भारतको सर्वोच्च अदालतमा भएको एक बहसका क्रममा सामाजिक सञ्जालमा अत्यधिक सक्रिय बेरोजगार युवाहरूलाई ‘ककरोच’ अर्थात् साङ्लोसँग तुलना गरिएको भन्दै सामाजिक सञ्जालमा तीव्र आक्रोश फैलिएको थियो। तर युवाहरूले त्यसलाई अपमानको रूपमा स्वीकार गरेनन्। बरु त्यही शब्दलाई प्रतिरोधको प्रतीक बनाए। “यदि व्यवस्था हामीलाई ककरोच ठान्छ भने हामी त्यही ककरोच भएर व्यवस्थालाई चुनौती दिन्छौं’ भन्ने भावनासहित यो अभियान जन्मिएको देखिन्छ।
इतिहासमा धेरै आन्दोलनहरूले आफूलाई दिइएको अपमानजनक पहिचानलाई नै प्रतिरोधको हतियार बनाएका छन्। ककरोच जनता पार्टीले पनि त्यही रणनीति अपनायो। सामाजिक सञ्जालमा “म पनि ककरोच” भन्ने नारा भाइरल बन्न थाल्यो। लाखौं युवाहरूले आफूलाई “प्रणालीद्वारा बेवास्ता गरिएको पुस्ता” का रूपमा चित्रित गर्दै भिडियो, पोस्टर, मीम र व्यङ्ग्यात्मक सामग्री बनाउन थाले।
भारत अहिले विश्वकै सबैभन्दा ठूलो युवा जनसंख्या भएको देश हो। तर, त्यही देशका लाखौं युवाहरू बेरोजगारी, परीक्षा घोटाला, सरकारी भर्ती प्रक्रियाको ढिलाइ र आर्थिक असुरक्षाबाट निराश छन्। वर्षौंसम्म परीक्षा तयारी गर्ने विद्यार्थीहरू प्रश्नपत्र चुहिने, परीक्षा रद्द हुने, नतिजा रोकिने वा नियुक्ति प्रक्रिया अनिश्चित हुने समस्याबाट हैरान छन्। यही सामूहिक निराशा सामाजिक सञ्जालमा विस्फोटका रूपमा बाहिर आयो।
ककरोच जनता पार्टीको इन्स्टाग्राम पेजले केही दिनमै एक करोड ४१ लाख फलोअर्स कमाएको छ, जुन सत्तारुढ भारतीय जनता पार्टीको फलोअर्सभन्दा कयौं धेरै हो। युवाहरूले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक शैलीमा राजनीतिक बहस सुरु गरे। यसले एउटा गम्भीर संकेत दियो–आजको युवा पुस्ता राजनीतिक रूपमा निष्क्रिय छैन, बरु परम्परागत राजनीति र नेतृत्वबाट गहिरो रूपमा निरास छ।
यो अभियान केवल मजाकमा सीमित छैन। यसले उठाएका मुद्दाहरू भारतको लोकतान्त्रिक संरचनासँग प्रत्यक्ष रूपमा जोडिएका छन्। अभियानले पूर्वन्यायाधीशहरूलाई अवकाशपछि राजनीतिक नियुक्ति नदिनुपर्ने माग गरेको छ, जसले न्यायपालिकाको स्वतन्त्रताको प्रश्न उठाउँछ। सञ्चार माध्यम सरकारको प्रभावमा परेको भन्दै निष्पक्ष पत्रकारिताको माग गरिएको छ। चुनाव जितेर पार्टी परिवर्तन गर्ने नेताहरूलाई २० वर्षसम्म चुनाव लड्न नपाउने व्यवस्था हुनुपर्ने मागले राजनीतिक अवसरवादमाथि प्रत्यक्ष प्रहार गरेको छ।
संसदमा ५० प्रतिशत महिला आरक्षणको मागले लैंगिक प्रतिनिधित्वको बहसलाई पनि जोडेको छ। यसरी हेर्दा, ककरोच जनता पार्टी कुनै साधारण भाइरल ट्रेन्ड नभई युवाहरूको वैकल्पिक राजनीतिक घोषणापत्रजस्तो देखिन थालेको छ।
यो आन्दोलनले भारतका परम्परागत राजनीतिक दलहरूलाई असहज बनाएको छ। विपक्षी दलहरूले यसलाई सरकारविरुद्ध युवा असन्तुष्टिको संकेतका रूपमा उपयोग गर्न खोजिरहेका छन्। केही विपक्षी नेताहरूले सामाजिक सञ्जालमै आफूलाई “ककरोच सदस्य” बनाइदिन आग्रह गरेका छन्। यसले युवाहरूको बेरोजगारी र परीक्षा घोटालाजस्ता मुद्दालाई थप बलियो बनाएको छ।
तर, सत्तारूढ भारतीय जनता पार्टीका समर्थकहरूले भने यसलाई योजनाबद्ध डिजिटल प्रोपोगान्डा भएको आरोप लगाइरहेका छन्। युवाहरूले उल्टै “भाजपा ककरोचसँग किन डराएको?” भन्ने नयाँ नारा नै चलाएका छन्। अभियानसँग जोडिएका व्यक्तिहरूले आफ्नो वेबसाइट र सामाजिक सञ्जाल अकाउन्टमाथि साइबर आक्रमण र ह्याकिङ प्रयास भएको दाबीसमेत गरेका छन्।
ककरोच जनता पार्टीको सबैभन्दा रोचक पक्ष यसको संरचना हो। यसको कुनै परम्परागत पार्टी कार्यालय छैन। स्थापित नेता छैनन्। चुनावी झण्डा, कार्यकर्ता संरचना वा क्षेत्रीय संगठन छैन। यसको वास्तविक शक्ति सामाजिक सञ्जाल र डिजिटल नेटवर्क हो। इन्स्टाग्राम, एक्स, रेडिट र टिकटकजस्ता प्लेटफर्महरू नै यसको “पार्टी कार्यालय” बनेका छन्।
यो २१औँ शताब्दीको नयाँ राजनीतिक मोडेल हो, जहाँ भाइरल सामग्री नै राजनीतिक भाषण बनेको छ र मीम नै आन्दोलनको पोस्टर। विश्व राजनीतिमा यसअघि पनि यस्ता आन्दोलन देखिएका छन्। आइसल्याण्डको “द बेस्ट पार्टी” सुरुवातमा ठट्टाकै रूपमा खोलिएको थियो, तर युवाहरूको असन्तुष्टिले त्यसलाई चुनाव जित्ने तहसम्म पुर्याएको थियो।
अमेरिकामा रेडिटमार्फत सुरु भएको “वालस्ट्रिटबेट्स” अभियानले ठूला वित्तीय संस्थालाई चुनौती दिएको थियो। चीनमा “ट्याङ पिङ” आन्दोलनले अत्यधिक प्रतिस्पर्धी आर्थिक संरचनाविरुद्ध युवाहरूको मौन विद्रोहको प्रतिनिधित्व गरेको थियो। ककरोच जनता पार्टी त्यही विश्वव्यापी डिजिटल असन्तुष्टि र वैकल्पिक राजनीतिक संस्कृतिको भारतीय संस्करणका रूपमा देखिन थालेको छ।