काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सहमति नभएमा अमेरिका पुनः आक्रमणमा उत्रिन सक्ने तथा विश्व ऊर्जा व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण जलमार्ग होर्मुज जलडमरूमध्य आफ्नो नियन्त्रणमा लिन सक्ने चेतावनी दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ भने शेयर बजारमा गिरावट देखिएको छ।
आइतबार कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य वृद्धि भएको हो। उत्तरी समुद्री क्षेत्रबाट उत्पादन हुने बे्रन्ट कच्चा तेलको मूल्य १ दशमलव ३५ प्रतिशतले बढेर प्रतिव्यारेल ८१ दशमलव ६६ अमेरिकी डलर पुगेको छ। त्यस्तै अमेरिकी कच्चा तेलको मूल्य २ दशमलव ४ प्रतिशतले बढेर प्रतिव्यारेल ७७ दशमलव ६६ अमेरिकी डलर पुगेको छ।
अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा जारी वार्ता होर्मुज जलडमरूमध्य, लेबनानमा युद्धविराम तथा इरानको आणविक कार्यक्रमका विषयमा सहमति जुट्न नसकेपछि अवरुद्ध भएको छ। यद्यपि वार्ता रातभर जारी रहने अमेरिकी अधिकारीहरूले बताएका छन्।
ट्रम्पले सहमति हुन नसकेमा अमेरिकाले जलमार्ग प्रयोगबापत शुल्क असुल्न सक्ने सम्भावना समेत व्यक्त गरेका छन्। हाल वासिङ्टन र तेहरानबीच भएको समझदारीअनुसार ६० दिनसम्म कुनै शुल्क नलिई जलमार्ग सञ्चालन गर्ने प्रतिबद्धता रहेको छ।
यसअघि शनिबार इरानले अमेरिकाले आफ्ना प्रतिबद्धता उल्लंघन गरेको आरोप लगाउँदै होर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा गरेको थियो।
वार्ता सफल भई जलमार्गबाट हुने ढुवानी युद्धअघिको अवस्थामा फर्किएमा विश्व बजारमा कच्चा तेलको आपूर्ति उल्लेख्य रूपमा बढ्न सक्ने कोलम्बिया विश्वविद्यालयकी अनुसन्धानकर्ता करेन यङले बताएकी छन्।
कच्चा तेलको मूल्य घटेमा सवारीसाधनमा प्रयोग हुने इन्धनको मूल्यसमेत घट्ने अपेक्षा गरिएको छ। अमेरिकी मोटर चालक संघका अनुसार आइतबार अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ३ दशमलव ९४ अमेरिकी डलर रहेको छ। यो एक महिनाअघिको तुलनामा करिब १४ प्रतिशत कम भए पनि युद्धअघि रहेको मूल्यभन्दा झण्डै एक अमेरिकी डलर बढी हो।
यसैबीच, अमेरिकी शेयर बजारका सूचकहरूमा पनि गिरावट देखिएको छ। औद्योगिक कम्पनीहरूको प्रमुख सूचक ० दशमलव ४ प्रतिशतले घटेको छ। त्यस्तै ५०० ठूला कम्पनीहरूको सूचक ० दशमलव ४ प्रतिशत तथा प्रविधि क्षेत्रका कम्पनीहरूको सूचक ० दशमलव ६ प्रतिशतले घटेको छ।