काठमाडौ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सीमित स्रोत र साधनको कठोर परिधिभित्र रहेर बताउने बताएका छन्।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक तथा सुशासन समितिको बैठकमा आगामी बजेटबारे बोल्दै उनले यसबारे जानकारी दिएका हुन्। अर्थमन्त्री डा. वाग्लेले नागरिक र जनप्रतिनिधिका असीमित चाहनालाई सीमित स्रोत साधनले सम्बोधन गर्नुपर्ने बाध्यता रहेको बताए।
उनले भने, ‘हामी बाँधिएका छौँ। हाम्रा साधन स्रोत अत्यन्तै सीमित छन्। तर, हाम्रा चाहना, इच्छा र विकासप्रतिका अपेक्षाहरू असीमित छन्। सीमित रिसोर्सबीच असीमित चाहना पूर्ति गर्न अर्थमन्त्रीलाई ज्यादै गाह्रो हुन्छ। एउटा घरमूलीलाई घर चलाउन जति गाह्रो हुन्छ, राज्य सञ्चालनमा पनि त्यस्तै चुनौती छ।’
उनले देशको आम्दानी र खर्चको खाडल प्रस्तुत गर्दै ऋण नलिई राज्य सुचारु हुन नसक्ने अवस्था रहेको दृष्टान्त पेस गरेका छन्। ‘हाम्रो अनिवार्य दायित्व १३ खर्ब ३० अर्बको छ। तर, राजस्व जम्मा ११ खर्ब ८० अर्ब उठ्ने अवस्था छ। आँखा चिम्लेर राज्य सुताउने हो भने पनि हामी घाटामा छौँ, सुत्नका लागि पनि ऋण लिनुपर्ने अवस्था छ,’ उनले भने।
सीमित स्रोतले आगामी बजेटले नयाँ र महत्त्वाकांक्षी आयोजनामा पैसा छर्ने भन्दा पनि सम्पन्न हुने चरणमा पुगेका आयोजनालाई प्राथमिकता दिने अर्थमन्त्री वाग्लेले प्रष्ट पारेका छन्।
७० देखि ८० प्रतिशत काम सम्पन्न भइसकेका बताउँदै उनले बजेट अभावले रोकिएका खानेपानी, सिँचाइ र ट्रान्समिसन लाइन जस्ता आयोजनालाई पर्याप्त रकम विनियोजन गरेर यसै वर्ष सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिए।