काठमाडौं। अमेरिकी कंग्रेसले इरान युद्धका क्रममा अमेरिकी वायु सेनाले व्यहोरेको क्षतिको विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनअनुसार युद्धका क्रममा ४२ वटा अमेरिकी विमान नष्ट वा क्षतिग्रस्त भएका छन्।
यो प्रतिवेदन अमेरिकी कंग्रेसअन्तर्गतको ‘कंग्रेसनल रिसर्च सर्भिस’ (सीआरएस)ले तयार पारेको हो र अमेरिकी कंग्रेसको वेबसाइटमा समेत उपलब्ध छ।
सीआरएसले कुनै राजनीतिक दलको पक्ष वा विपक्ष नलिई अमेरिकी कंग्रेसका दुवै सदनका सदस्यहरूलाई नीतिगत विषयमा विश्लेषण उपलब्ध गराउने कार्य गर्छ।
प्रतिवेदनमा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन), सेन्ट्रल कमाण्ड (सेन्टकम) तथा विभिन्न सञ्चारमाध्यमका समाचारलाई आधार बनाइएको छ। ती स्रोतअनुसार नष्ट वा क्षतिग्रस्त विमानहरूमा मानवविहीन हवाई साधन, लडाकु जेट तथा ड्रोनहरू समावेश छन्।
प्रतिवेदनमा पेन्टागनका अधिकारी जुल्स डब्ल्यू हर्स्टले कंग्रेससमक्ष दिएको हालैको बयान पनि उद्धृत गरिएको छ। जसअनुसार इरान युद्धमा अमेरिकी रक्षा मन्त्रालयको खर्च २९ अर्ब डलरभन्दा बढी पुगेको छ। यसमा विमानको मर्मत तथा सञ्चालन खर्चसमेत समावेश गरिएको छ।
चार एफ–१५ई स्ट्राइक ईगल विमान

प्रतिवेदनअनुसार २ मार्च २०२६ मा सेन्टकमले कुवेतमा दुई अमेरिकी एफ–१५ई स्ट्राइक ईगल विमान ‘मैत्रीपूर्ण गोलीबारी’ (फ्रेन्डली फायर)का कारण दुर्घटनाग्रस्त भएको पुष्टि गरेको थियो। उक्त घटनामा दुवै विमानका चालकदलका ६ सदस्य सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका थिए।
त्यसैगरी ५ अप्रिल २०२६ मा सेन्टकमले इरानभित्र गरिएको हवाई आक्रमणका क्रममा अर्को अमेरिकी एफ–१५ई विमान दुर्घटनाग्रस्त भएको जनाएको थियो। खोज तथा उद्धार अभियानमार्फत दुवै पाइलटलाई सुरक्षित रूपमा उद्धार गरिएको थियो ।
प्रतिवेदनमा १९ मार्चको एक समाचार उद्धृत गर्दै इरानी भूमिगत प्रतिरक्षा प्रणालीको गोलीबारीबाट एउटा एफ–३५ए विमान क्षतिग्रस्त भएको उल्लेख गरिएको छ।
त्यतिबेला अमेरिकी सेन्ट्रल कमाण्डले इरानी हवाई क्षेत्रमा सञ्चालन गरिएको अभियानपछि एउटा अमेरिकी एफ–३५ लडाकु विमानले मध्यपूर्वस्थित एक हवाई अड्डामा आपत्कालीन अवतरण गर्नुपरेको पुष्टि गरेको थियो।
सेन्ट्रल कमाण्डले विमान सुरक्षित रूपमा अवतरण गरेको र पाइलटको अवस्था स्थिर रहेको जनाएको थियो। घटनाबारे थप विवरण नदिइए पनि अमेरिकी सञ्चारमाध्यम सीएनएनले उक्त विमानलाई इरानले निशाना बनाएको दाबी गरेको थियो।
अमेरिकी कंग्रेसको प्रतिवेदनअनुसार ६ अप्रिल २०२६ मा आयोजित पत्रकार सम्मेलनमा संयुक्त चीफ अफ स्टाफका अध्यक्ष जनरल डेन केनले ३ अप्रिलमा एउटा ए–१० विमान शत्रुपक्षको गोलीबारीमा परेर दुर्घटनाग्रस्त भएको बताएका थिए। दुर्घटनाअघि पाइलटले सुरक्षित रूपमा इजेक्ट गर्न सफल भएका थिए।
केसी–१३५ ट्यांकर विमान
प्रतिवेदनअनुसार १२ मार्च २०२६ मा सेन्टकमले इराकी हवाई क्षेत्रमा दुई केसी–१३५ ट्यांकर विमान एकआपसमा ठोक्किँदा एउटा विमान दुर्घटनाग्रस्त भएको र अर्को विमान सुरक्षित अवतरण गर्न सफल भएको जनाएको थियो।
उक्त दुर्घटनामा विमानमा सवार सबै ६ चालकदल सदस्यको मृत्यु भएको थियो। यी विमान हवाईमै लडाकु विमानलाई इन्धन भर्ने कार्यका लागि प्रयोग गरिन्छन्।
प्रतिवेदनमा १४ मार्चको एक समाचार उद्धृत गर्दै साउदी अरबस्थित प्रिन्स सुल्तान एयर बेसमा रहेका पाँच केसी–१३५ विमान इरानी मिसाइल तथा ड्रोन आक्रमणमा क्षतिग्रस्त भएको उल्लेख गरिएको छ।
ई–३ सेन्ट्री चेतावनी तथा नियन्त्रण विमान
प्रतिवेदनअनुसार २८ मार्चको एक समाचारमा साउदी अरबको प्रिन्स सुल्तान एयर बेसमा भएको इरानी मिसाइल तथा ड्रोन आक्रमणमा एउटा ई–३ सेन्ट्री विमान नष्ट भएको जनाइएको थियो।
७ मेमा सार्वजनिक अर्को समाचारमा उक्त विमान असुरक्षित ट्याक्सीवेमा पार्क गरिएको अवस्थामा रहेको उल्लेख गरिएको थियो।
त्यस समयमा सार्वजनिक भएका केही पुष्टि गरिएका तस्बिरहरूमा अमेरिकी वायु सेनाको कमाण्ड तथा नियन्त्रण विमान गम्भीर रूपमा क्षतिग्रस्त अवस्थामा देखिएको थियो।
अमेरिकी सैन्य समाचारसम्बन्धी फेसबुक पेजमा पहिलो पटक सार्वजनिक गरिएका तस्बिरमा ई–३ सेन्ट्री विमान दुई टुक्रामा विभाजित भएको देखिएको थियो।
बीबीसी भेरिफाइले ती तस्बिर साउदी अरबको राजधानी रियादबाट करिब १०० किलोमिटर टाढा रहेको प्रिन्स सुल्तान एयर बेसमै खिचिएको पुष्टि गरेको थियो। तस्बिरमा देखिएका खम्बा, भण्डारण संरचना तथा साइनबोर्डहरू उपग्रह तस्बिरसँग मेल खाएको जनाइएको थियो।

एमसी–१३०जे कमाण्डो विशेष अभियान विमान
५ अप्रिल २०२६ को एक समाचारअनुसार दुर्घटनाग्रस्त एफ–१५ई विमानको खोज तथा उद्धार अभियानमा संलग्न दुई एमसी–१३०जे विमानलाई जानाजानी निष्क्रिय पारिएको थियो।
प्रतिवेदनअनुसार ती विमान समयमै उडान भर्न नसक्ने अवस्थामा पुगेपछि जमिनमै निष्क्रिय बनाइएका थिए। यद्यपि, चालकदलका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
इरानले अमेरिकी एफ–१५ई विमान खसालेको र त्यसका एक चालकदल सदस्य इरानभित्र बेपत्ता भएको दाबी गरिएको थियो। त्यसपछि अमेरिकाले ठूलो स्तरको खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो।
अमेरिकी सञ्चारमाध्यमका अनुसार बेपत्ता चालकदल सदस्यको उद्धारका क्रममा अमेरिकी र इरानी सेनाबीच झडपसमेत भएको थियो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ठूलो सैन्य अभियानको संज्ञा दिएका थिए। यसमा दर्जनौं अमेरिकी विमान सहभागी रहेको बताइएको थियो।
खोज तथा उद्धार हेलिकप्टर
प्रतिवेदनअनुसार ६ अप्रिलमा जनरल डेन केनले पत्रकार सम्मेलनमार्फत ५ अप्रिलमा सञ्चालन गरिएको उद्धार अभियानका क्रममा एउटा अमेरिकी एचएच–६०डब्ल्यू हेलिकप्टर क्षतिग्रस्त भएको पुष्टि गरेका थिए।
उक्त हेलिकप्टर इरानी आक्रमणमा खसालिएको एफ–१५ई जेटका बेपत्ता अमेरिकी पाइलटको खोज अभियानमा प्रयोग गरिएको थियो।

ड्रोन
कंग्रेसको प्रतिवेदनमा ९ अप्रिलको एक समाचार उद्धृत गर्दै ‘अपरेशन एपिक फ्युरी’ का क्रममा २४ वटा अमेरिकी ड्रोन नष्ट गरिएको उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार तीमध्ये ‘एमक्यू–९ रिपर’ ड्रोनहरू न्यून तथा उच्च दुवै उचाइमा सञ्चालन गरिएका थिए।
त्यसैगरी युद्धका क्रममा उच्च उचाइमा उड्ने एउटा एमक्यू–४सी ड्रोनसमेत नष्ट भएको प्रतिवेदनमा उल्लेख छ। यद्यपि अमेरिकी अधिकारीहरूले इरान युद्धका क्रममा आफूहरूले “अधिकांश रणनीतिक उद्देश्य हासिल गरेको” दाबी गरेका छन्।
राष्ट्रपति ट्रम्पले पनि विभिन्न अवसरमा इरानको वायु सेना, स्थल सेना तथा नौसेनालाई ध्वस्त पारिएको बताएका छन्। यता इरानले भने अहिलेसम्म युद्धमा भएको क्षतिको औपचारिक विवरण सार्वजनिक गरेको छैन। साथै, उसले अझै पनि अमेरिकाविरुद्ध युद्ध जारी राख्न सक्षम रहेको दाबी गर्दै आएको छ।
अमेरिका–इरान युद्धले विश्वभर महँगी बढायो, इन्धन आपूर्ति क्षतविक्षत भएको छ। करिब साढे दुई महिनादेखि चलेको युद्धले विश्वको इन्धन आपूर्ति मार्ग होर्मुज अवरुद्ध हुँदा सातै महादेश प्रभावित भएका छन्।
यो युद्धले एसिया अझ बढी प्रभावित बनेको छ। इन्धन आपूर्तिका स्रोत खाडी मुलुकभित्रै इरानले प्रत्याक्रमण गरेपछि एलपीजी ग्यास, पेट्रोलियम भण्डारलगायतमा क्षति पुगेको छ।
होर्मुज अवरोध हुँदा विश्वभरका मुलुकमा इन्धनको मूल्य चुलिएको छ। मूल्य बढेसँगै मानिसको दैनिकीमा समेत प्रत्यक्ष प्रभाव परेको छ। यातायात भाडा, खाद्यान्न, तरकारी र नुनदेखि सुनसम्मका चीज महँगिएका छन्।यसले गर्दा सर्वसाधारणको दैनिक कष्टकर बनिरहेको छ।