काठमाडौं। चालू आर्थिक वर्ष ०८२/८३ को अन्तिम डेढ महिना बाँकी रहँदा सरकारले राजस्व संकलनलाई तीव्र बनाउन तीन प्रमुख रणनीति अघि सारेको छ। भन्सार राजस्वतर्फ लक्ष्यअनुसारको प्रगति देखिए पनि आन्तरिक राजस्वको वृद्धिदर अपेक्षाकृत कमजोर रहेपछि अर्थ मन्त्रालयले राजस्व उठाउने अभियानलाई थप सक्रिय बनाएको हो।
विगतका वर्षहरूमा जस्तै जेठ र असार महिनामा सबैभन्दा बढी राजस्व उठ्ने ट्रेन्ड (प्रवृत्ति) रहेकाले चालू वर्ष पनि कुल कर राजस्व लक्ष्यको आसपास नै पुग्ने सरकारको आंकलन छ। भन्सार राजस्व जेठको दोस्रो सातासम्मको तथ्यांकअनुसार कुल लक्ष्यको झन्डै ८७ प्रतिशत प्रगति हासिल गरिसकेको छ।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले चालू आवमा लक्ष्य अनुसार राजस्व संकलनका लागि दुई/तीन वटा रणनीति अपनाएर अगाडि बढी रहेको बताउँछन्।
‘हामीले फलोअप गर्नेदेखि बक्यौता उठाउनेमा ध्यान दिएका छौँ’, प्रवक्ता लम्सालले भने, ‘भन्सार तिरको लिलामी मुद्दालाई चाँडो निर्क्योल गरी लिलामी प्रक्रियालाई समेत तीव्रता दिने छौँ।’
योसँगै ल्याबमा आएका सामानको भन्सार जाँच पास गरेर नियम कानुन अनुसार भएका कागज सबै पुगेका व्यापारीलाई समन्वय गरेर चाँडो जाँच पास गराउने समेत काम गर्ने उनले बताए।
सरकारले लिएको राजश्व उठाउने लक्ष्यलाई भेट्ने गरी आवश्यक रणनीतिलाई अबलम्बन गरेर अगाडि बढेमा चालू आवको अन्त्यसम्ममा लक्ष्य अनुसार राजस्व संकलन हुने दाबी गरेको छ।
भन्सारको तुलनामा आन्तरिक राजस्वतर्फको वृद्धिदर केही कमजोर छ। यद्यपि, आर्थिक वर्षको अन्तिम महिनाहरूमा ३० देखि ४० प्रतिशतसम्म कर संकलन हुने र पुराना बक्यौताहरू उठ्ने भएकाले असार मसान्तसम्ममा यो पनि लक्ष्यको नजिक पुग्ने विश्वास गरिएको छ।
सरकारको चालू आवका लागि कुल १४ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने वार्षिक लक्ष्य लिएको छ। चालू आवको वैशाख मसान्त कुल १० खर्ब ३ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो लक्ष्यको तुलनामा करिब ६७.८२ प्रतिशत हो।
सरकारले राजस्व बढाउन थालेका तीन रणनीतिक कदम
भन्सार जाँच पासमा तीव्रता र सहजीकरण
नियमअनुसार कागजात पुगेका सामानहरू व्यवसायीले भन्सार गोदाममा ६० दिनसम्म राख्न पाउँछन्। तर, गोदाममा सामान डम्प भएर बस्दा राज्यको घानमा राजस्व आउन ढिला हुने भएकाले व्यवसायीहरूसँग समन्वय गरी प्रक्रिया पुगेका सामान चाँडो जाँच पास गराएर छुटाउन प्रोत्साहन गरिँदै छ।
मुद्दा मामिलाका सामानको छिटो लिलामी
विगत लामो समयदेखि विभिन्न कानुनी झमेला वा मुद्दामा परेर भन्सारमै रोकिएका मालसामानहरूको छिटो कानुनी निरूपण गरिँदै छ। निर्णय भइसकेका सामानहरूलाई तत्काल लिलामी प्रक्रियामा लगेर त्यसबाट थप राजस्व संकलन गरिनेछ।
बक्यौता असुलीका लागि व्यवसायीसँग ’फलोअप’
आन्तरिक राजस्वतर्फ उठ्न बाँकी रहेको ठुलो परिमाणको कर (बक्यौता) असुल गर्न व्यवसायीहरूलाई बोलाएर छलफल गर्ने, चिठी काट्ने र ताकेता गर्ने काम भइरहेको छ। खाता रोक्का (फ्रिज) गर्ने जस्ता कडा कानुनी कदम चाल्नुअघि व्यवसायीहरूलाई सम्झाएरै बक्यौता राफसाफ गराउन फलोअप भइरहेको छ।
प्रवक्ता लम्सालले भने,‘जेठ र असारमा राजस्व संकलन अलि बढी आउने गत विगतका वर्षको टेन्ड्र पनि थियो। त्यसले गर्दा भन्सारको लक्ष्य पुग्छ पुग्छ जस्तो पनि देखिन्छ। यता आन्तरिक राजस्वको ग्रोथ छ।’ जति आर्थिक मसान्त नजिकिँदै जान थालेको त्यति राजस्व संकलनमा समेत वृद्धि भएको देखिन्छ।
‘हामीले हेर्दा यो वर्षको लगभग लक्ष्यको आसपास पुग्ला कि भने हो। पछिल्लो दिनमा अलि कति जेठ असारमा सुधार गरोस्। बक्यौता सक्यौता अरू क्लेक्सनले सपोर्ट गर्छ की भन्ने छ,’उनले भने,‘समग्रमा हेर्दा भन्सारको अलिकति किलिएरै भएको भएर ट्रेन्ड हेर्दा खेरी भन्सारको लक्ष्य आसपासै पुग्ने जस्तो देखिन्छ। आन्तरिक राजस्वमा ग्रोथ अहिले थोरै थोरै कम छ।’
जेठ र असारमा राजस्व संकलनको बक्यौता सक्यौता सबै उठ्ने भएकाले गर्दा खेरी लक्ष्यको लगभग नजिक नजिक राजस्व संकलन हुने देखिन्छ। राजस्व चुहावटको सन्दर्भमा अहिले सीमा नाकामा कडाइ गरेकाले अहिले वैधानिक च्यानलबाट मात्र सामान भित्रिएका कारण भन्सार असुली बलियो देखिएको छ। उनले भने,‘हामीले सीमा नाकामा गरेको कडाइले गर्दा खेरी पनि होला, भन्सारको राजस्व बढी रहेको हुन सक्छ होइन। एउटा ओबर ट्रेन्ड पनि बढेको र बाहिरबाट आउन सक्ने वस्तुहरू सबै भन्सारबाट आएकाले गर्दा खेरी राजस्व बढेको पनि हुन सक्छ।’
सरकारले चालू आवमा गत वर्षको हाराहारीमा भन्दा थोरै बढी राजस्व संकलन हुने आंकलन गरेको छ। ‘गत वर्षभन्दा यस वर्ष अलि बढी राजस्व उठ्छ। अहिले त बढी उठ्छ। हेरौं यस पछाडि कतिको बक्यौता असुलीलगायत कतिको आउँछ त्यसले पनि हेरिन्छ। अलि माथि नै होला,’ उनले भने।