काठमाडौं। भारतीय विदेश मन्त्रालयले चीन र पाकिस्तानको संयुक्त वक्तव्यमा जम्मू–कश्मीरको उल्लेखलाई स्पष्ट रूपमा अस्वीकार गर्दै अनुपयुक्त भनेको छ।
एक विज्ञप्तिमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने, ‘यस मुद्दामा भारतको अडान एकताबद्ध छ र सम्बन्धित पक्षहरूलाई यसबारे राम्ररी थाहा छ। जम्मू कश्मीर र लद्दाखका केन्द्र शासित प्रदेशहरू भारतको अभिन्न र अविभाज्य अंग थिए, छन् र सधैं रहनेछन्। यसबारे टिप्पणी गर्ने अधिकार अरू कुनै देशलाई छैन।’
भारतीय विदेश मन्त्रालयले चीन–पाकिस्तान आर्थिक करिडोर परियोजनाको विरोध गरेको छ। यसलाई अवैध र भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घन भनेको छ।
विदेश मन्त्रालयले चीन र पाकिस्तान बीचको सीमापार जलस्रोत सहयोगको मुद्दामा पनि टिप्पणी गरेको छ।
विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘हामीले चीन र पाकिस्तानबीच तथाकथित सीमापार जलस्रोत सहयोगको सन्दर्भ पनि देखेका छौं। दुई देशले सीमा साझा नगर्ने भएकाले यस्तो तथाकथित सीमापार जलस्रोत सहयोगको प्रश्न नै उठ्दैन।’
उनले भारतले पाकिस्तान र चीनबीचको तथाकथित १९६३ को सीमा सम्झौतालाई कहिल्यै मान्यता नदिएको पनि बताए।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ चीनको भ्रमणमा थिए। मंगलबार दुई देशले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा जम्मू र कश्मीरको उल्लेख गरिएको थियो।
पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ,‘पाकिस्तानले जम्मू र कश्मीरको पछिल्लो अवस्थाबारे चीनलाई जानकारी गराएको थियो, जसको जवाफमा चीनले यो विवाद पुरानो भएको र संयुक्त राष्ट्र संघको बडापत्र, सुरक्षा परिषद्को प्रस्ताव र द्विपक्षीय सम्झौता अनुसार शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्ने बताएको छ।’
दुई देशले सीमापार जलस्रोतमा पनि सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्।