काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने तीन दिन बाँकी मात्रै बाँकी छ। जेठ १५ कटाउन नहुने कानुनी व्यवस्थाअनुसार शुक्रबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा वाग्लेले आगामी आवको बजेट प्रस्तुत गर्नेछन्।
बजेट लेखन कार्य अन्तिम चरणमा पुगेको बजेट लेखन समितिले जनाएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले भने, ‘बजेट सेडुलअनुसार नै भइरहेको छ। मन्त्रालयहरूको बजेट कार्यक्रम राख्ने ‘फाइनालाइज्ड’ भइसक्यो। बजेट लेखनको काम पनि चलिरहेको छ। बजेट फाइनल चाँडै हुन्छ। हामी सेड्युलअनुसार नै बजेट लेखन कार्य गरिरहेका छौं।’
बजेट लेखन कार्य अन्तिम चरणमा पुगिसकेको प्रवक्ता लम्सालले बताए। बिहीबारसम्म बजेट लेखन कार्य सकिने उनको भनाइ छ। समितिले बजेट लेखन कार्य अन्तिम अन्तिम चरणमा पुर्याएसँगै अर्थमन्त्री डा वाग्लेले त्यसप्रति चासो राख्दै बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम रूप दिन लागिपरेका छन्।
आगामी आवका लागि कति रकमको बजेट आउने भन्ने विषय भने अझै टुंगो लाग्न सकेको छैन। सरकारले २१ खर्बमाथिको बजेट ल्याउने तयारी गरिरहेको जनाएको छ।
यसअघि राष्ट्रिय योजना आयोगले सरकारलाई १८ खर्ब ९० अर्बको बजेट सीमा दिएको थियो। तर, सरकारले आयोगको बजेट सीमा भन्दा बढी बजेट ल्याउने गरी तयारी गरिरहेको छ।
विगतका वर्षमा अर्थ मन्त्रालयले बजेट लेखन कार्य गरिरहेको भए पनि यस वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बजेट लेखनमाथि हस्तक्षेप गरेपछि रकम बढ्ने देखिन्छ।