काठमाडौं। आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान सरकारले गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा पेश गरेका आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको हो।
गत आर्थिक वर्ष २०८१/८२ मा यस्तो वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो। नयाँ आर्थिक सर्वेक्षणले मुलुकको समग्र आर्थिक स्थिति, क्षेत्रगत उपलब्धि र नीतिगत सुधारका प्रयासहरूको विश्लेषण गरेको छ। चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ४.५४ प्रतिशत रहने अनुमान छ। गत वर्ष यी क्षेत्रको वृद्धिदर क्रमशः ३.०५ प्रतिशत र ४.१२ प्रतिशत रहेको थियो। धान रोप्ने समयमा परेको खडेरीका कारण धान उत्पादन ४.१६ प्रतिशतले घट्ने अनुमान गरिएको छ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को संरचनामा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ६१.८१ प्रतिशत रहने अनुमान छ। यस्तै प्राथमिक क्षेत्रको योगदान २४.४६ प्रतिशत र द्वितीय क्षेत्रको १३.७३ प्रतिशत रहने देखिएको छ। पछिल्लो दशकको प्रवृत्ति हेर्दा कृषि क्षेत्रको योगदान घट्दै र सेवा क्षेत्रको योगदान बढ्दै गएको छ। कृषिमा केही शिथिलता आए तापनि विद्युत् तथा ग्यास क्षेत्रमा उल्लेख्य सुधार भएको छ।
साथै, यातायात, भण्डारण, सूचना तथा सञ्चार र खुद्रा व्यापार जस्ता क्षेत्रहरूमा सामान्य वृद्धि भएको सर्वेक्षणले देखाएको छ। यस्तै, चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९ सय ४६ रुपैयाँ पुग्ने अनुमान छ। अमेरिकी डलरमा भने यो १ हजार ५ सय १३ डलर रहने देखिएको छ, जुन गत वर्ष १ हजार ५ सय १६ डलर रहेको थियो। यस वर्ष बागमती र गण्डकी प्रदेश बाहेक अन्य सबै प्रदेशहरूको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान गरिएको छ।
विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र व्यापार अवरोधका कारण सन् २०२६ मा विश्व अर्थव्यवस्थाको विस्तार ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ, जसको प्रभाव नेपालमा पनि पर्न सक्ने देखिएको छ।