काठमाडौं। अमेरिकाले इरानभित्रका सैन्य स्थानमा नयाँ आक्रमण गरेको छ। यसपटक अमेरिकाले इरानको रणनीतिक बन्दरगाह सहर बन्दर अब्बासस्थित एक सैन्य अड्डालाई निशाना बनाएको हो।
अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज जलडमरूमध्य आसपास खतरा उत्पन्न गरिरहेका इरानका चार आक्रमणकारी ड्रोन पनि खसालिएको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार बन्दर अब्बासस्थित उक्त सैन्य अड्डामाथि आक्रमण गर्नुको कारण त्यहाँबाट इरानले पाँचौँ ड्रोन आक्रमणको तयारी गरिरहेको थियो। इरानी सञ्चारमाध्यमहरूले सहरको पूर्वी क्षेत्रमा विस्फोट भएको समाचार दिएका छन्।
यी आक्रमण अमेरिका र इरानबीच अत्यन्त संवेदनशील युद्धविराम लागू भएको तथा तीन महिनादेखि जारी युद्ध अन्त्य गर्न वार्ता चलिरहेका बेला भएका हुन्। यस युद्धले होर्मुज जलडमरूमध्यको समुद्री मार्गलाई गम्भीर रूपमा प्रभावित बनाएको छ भने विश्वव्यापी ऊर्जा मूल्यमा तीव्र वृद्धि गराएको छ ।
अमेरिकाले आक्रमणको कारण खुलायो
पछिल्ला तीन दिनमा अमेरिकाले इरानभित्र दोस्रोपटक आक्रमण गरेको हो। अमेरिकाले यी कारबाही आत्मरक्षाका लागि गरिएको दाबी गरेको छ। यद्यपि, नयाँ सैन्य गतिविधिले युद्धविरामको स्थायित्वमाथि पुनः प्रश्न उठाएको छ।
अमेरिकी सेन्ट्रल कमान्डले आफ्नो कारबाहीलाई सन्तुलित, पूर्ण रूपमा रक्षात्मक तथा युद्धविराम कायम राख्ने उद्देश्यले गरिएको बताएको छ। यस साताको सुरुआतमै अमेरिकी सेन्ट्रल कमान्डले दक्षिणी इरानमा ‘आत्मरक्षा’का लागि गरिएको आक्रमणको पुष्टि गरेको थियो।
सोमबार भएका ती आक्रमणमा इरानी मिसाइल अड्डा तथा होर्मुज जलडमरूमध्यमा बारुदी सुरुङ बिछ्याउन खोजिरहेका डुंगाहरूलाई निशाना बनाइएको थियो। संघर्षका कारण हजारौँ व्यावसायिक तेल ट्यांकर जहाज होर्मुज क्षेत्रमा रोकिएका छन्।
अमेरिकी सेन्ट्रल कमान्डले ती आक्रमण “इरानी फौजबाट आफ्ना सैनिकमाथि हुन सक्ने खतरा रोक्न” गरिएको जनाएको छ। इरानले अमेरिकी आक्रमणलाई युद्धविरामको गम्भीर उल्लंघन भनेको छ र इरानी सरकारले कुनै पनि शत्रुतापूर्ण गतिविधिको जवाफ नदिई नछोड्ने चेतावनी दिएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले मंगलबार आफूहरूले एक अमेरिकी ड्रोन खसालेको तथा इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एक लडाकु विमान र अर्को ड्रोनमाथि पनि गोली चलाएको दाबी गरेको थियो। यद्यपि, उक्त घटना कहिले भएको हो भन्ने खुलाइएको छैन।
ट्रम्पले के भने?
बुधबार मन्त्रिपरिषद् बैठकका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान कमजोर अवस्थामा वार्तामा सहभागी भइरहेको बताएका थिए। साथै, उनले आफ्नो युद्ध रणनीतिमा नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनको कुनै प्रभाव नपर्ने दाबी गरे।
ट्रम्पले खाडी मुलुकहरूलाई अब्राहम एकर्ड्समा सहभागी भई इजरायलसँग सम्बन्ध सामान्य बनाउन पनि आग्रह गरेका छन् इजरायलले २८ फेब्रुअरीमा अमेरिकासँग मिलेर इरानविरुद्ध युद्ध सुरु गरेको थियो। साथै, लेबनानमा इरान समर्थित हिज्बुल्लाहसँग पनि उसले संघर्ष जारी राखेको छ।
ट्रम्पले इरानले आफ्ना सर्त नमाने अमेरिकाले पुनः व्यापक बमबारी अभियान सुरु गर्न सक्ने चेतावनी दिएका छन्। यद्यपि, गत सातासम्म ट्रम्पले इरानसँग शान्ति सम्झौता करिब टुंगिन लागेको भन्दै आशावादी अभिव्यक्ति दिएका थिए। तर बुधबारको मन्त्रिपरिषद् बैठकसम्म आइपुग्दा उनले अमेरिका हालको अवस्थाबाट सन्तुष्ट नरहेको बताए।
उनले इरान सम्झौता गर्न अत्यन्त इच्छुक भए पनि अहिलेसम्म सहमतिमा पुग्न नसकेको बताए। ट्रम्पले पुनः दोहोर्याउँदै भने, “यदि सम्झौता भएन भने अमेरिका फेरि सैन्य आक्रमण सुरु गर्न तयार छ।”