काठमाडौं। अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक आगामी आर्थिक वर्षको बजेटमा उल्लिखित विद्युतीय सवारी (ईभी) मा सरकारले अत्यधिक कर वृद्धि गरेको भन्दै सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा गरिएका दाबी विश्वासयोग्य नभएको बताएको छ।
२० देखि ३० लाखसम्मका विद्युतीय सवारीमा ४० प्रतिशत तथा ५० लाख रुपैयाँमाथिका सवारीमा १३० प्रतिशतसम्म कर लाग्ने भन्दै आएका समाचारप्रति अर्थमन्त्री वाग्लेको सचिवालयले ध्यानाकर्षण भएको जानकारी दिएको हो। ईभीमा लागू गरिएको कर व्यवस्थाबारे गलत बुझाइ र अपूर्ण व्याख्या गरिएको सचिवालयको दाबी छ।
सचिवालयका अनुसार आर्थिक विधेयकमा भन्सार ऐनअन्तर्गत विद्युतीय सवारीमा लाग्ने २० प्रतिशत भन्सार महसुल यथावत् राखिएको छ। त्यसबाहेक ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’सम्बन्धी छुट्टै व्यवस्था गरिएको छ, जसलाई केही सञ्चार माध्यमले भन्सार महसुलसँग जोडेर प्रस्तुत गर्दा भ्रम सिर्जना भएको सचिवालयले बताएको छ।
सचिवालयले सार्वजनिक गरेको विवरणअनुसार २० लाख रुपैयाँसम्म कारोबार मूल्य भएका विद्युतीय सवारीमा २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ। २० देखि ३० लाख रुपैयाँसम्मका सवारीमा २० प्रतिशत, ३० देखि ४० लाखसम्ममा ३५ प्रतिशत, ४० देखि ५० लाखसम्ममा ९० प्रतिशत तथा ५० लाख रुपैयाँभन्दा माथिका सवारीमा १३० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने व्यवस्था छ।
यसका अतिरिक्त सबै विद्युतीय सवारीमा ५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर यथावत् राखिएको छ।
सचिवालयले २० देखि ३० लाख रुपैयाँसम्मका विद्युतीय सवारीमा २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्कलाई जोडेर ‘४० प्रतिशत भन्सार कर’ भनिएको व्याख्या तथ्यगत रूपमा गलत भएको स्पष्ट पारेको छ।

सरकारले कर संरचनाबारे स्पष्टीकरण दिए पनि नयाँ शुल्क व्यवस्थाले ईभीको समग्र कर भारमा प्रभाव पार्ने व्यवसायी बताउँछन्। उनीहरूका अनुसार भन्सार महसुल यथावत रहे पनि थपिएको स्वच्छ पूर्वाधार लगानी शुल्कले विशेषगरी मध्यम र उच्च मूल्यका विद्युतीय सवारीको लागत बढाउन सक्छ।
बढ्दो ईभी प्रयोगसँगै चार्जिङ स्टेसन, विद्युत् प्रसारण संरचना तथा हरित पूर्वाधार विस्तारका लागि आवश्यक स्रोत जुटाउने उद्देश्यले उक्त शुल्क व्यवस्था गरिएको हो। तुलनात्मक रूपमा कम मूल्यका विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने र उच्च मूल्यका सवारीबाट बढी योगदान लिने नीति अवलम्बन गरिएको मन्त्रालयले जनाएको छ।