काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज २६.७२ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.७२ अंकले ओरालो लागेर दुई हजार ७५५ दशमलव ३७ मा सीमित भएको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ७८ अंकले ओरालो लागेर ४७० दशमलव ७२ मा सीमित भएको छ। बजेट सार्वजनिक भएपछि खुलेको बजार चलायमान बन्नुका साथ सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिए पनि नेप्से आज शून्य दशमलव ९६ प्रतिशतले घटेको हो।
तीन सय ४९ कम्पनीको एक करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर पाँच अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ मूल्यमा किनबेच भएको छ। कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ। नेपाल पुनरबीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, रिडी पावर कम्पनी र नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेका छन्।
नेप्सेका अनुसार नेपाल पुनरबीमा कम्पनी, कालिञ्चोक हाइड्रोपावर, सिटिजन बैंकको डिवेञ्चर, सेन्ट्रल फाइनान्स र सिभिल बैंकको डिवेञ्चरका लगानीकर्ताले आज कमाएका छन्। त्यस्तै, बुङ्गल हाइड्रोपावर, क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स, विशाल बजार कम्पनी, एनआइबिएल समृद्धि फण्ड दोस्रो र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन्।
कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य मात्रै वृद्धि भएको छ भने ११ उपसमूहका घटेका छन्।