काठमाडौं। यो साता कारोबारमा नेप्से परिसूचक करिब ३ प्रतिशत बढेको छ। नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले सेयर बजार चलायमान बनाउन भन्दै सहज नीति सार्वजनिक गरेसँगै सेयर बजार क्रमशः उकालो लाग्न थालेको हो।
गत साता २६००.७८ विन्दुमा बन्द भएको नेप्से यो साता २.९५ प्रतिशत अर्थात् ७६.७६ अंक बढेर २६७७.५४ विन्दुमा बन्द भएको छ। साताको पाँच कारोबार दिनमध्ये चार दिन नेप्से बढेको थियो भने एक घटेको थियो।
यो साता नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औसतमा ४ अर्ब ८५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औसतमा ५ अर्ब ८३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औसत कारोबार रकम २०.३५ प्रतिशत बढेको हो।
यो साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब ३ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ६८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता १ खर्ब ३१ अर्ब रुपैयाँ बढेर ४६ खर्ब रुपैयाँ पुगेको छ।
यो साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.७६ प्रतिशत बढेको छ। गत साता १० हजार ६४२.७१ विन्दुमा बन्द भएको नेप्से यो साता ४००.४१ अंक बढेर ११ हजार ४३.१२ बिन्दुमा पुगेको छ।
यो साता व्यापार उपसमूहको परिसूचक भने सबैभन्दा कम ०.९१ प्रतिशत बढेको छ। गत साता ३२९९.२८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यो साता २९.९२ अंक बढेर ३३२९.२० विन्दुमा पुगेको छ। अंकका आधारमा भने यो साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.२५ अंक बढेको छ। यो नेप्सेमा एभरेष्ट कलरको ३० लाख कित्ता सेयर सूचीकृत भएको छ।
यो साता थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १९.१२ प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ११.०९ प्रतिशत घटेको छ।