काठमाडौं। भदाै २३ र २४ जेनजी आन्दोलनबाट अपदस्थ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राणा, पञ्चायती, राजतन्त्रजस्ता शासन व्यवस्था ढलिसकेकाले कुनै अराजकतन्त्र देशमा टिकाउन नहुने दाबी गरेका छन्।
काठमाडौंमा आजदेखि सुरु भएको राष्ट्रिय कार्यशाला उद्घाटन गर्दै अध्यक्ष ओलीले नेता, कार्यकर्तालाई उत्ताउलिँदै धेरै अगाडि नबढ्न र संयम भएर बस्न आग्रह गर्दै बालेन्द्र शाह सरकारप्रति कटाक्ष गरेका हुन्।
उनले पछिल्लो परिणामको आलोचना गर्दै यो अवस्था धेरै नटिक्ने बताए। ‘राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले, अनेक तन्त्र गए, यो अराजकतन्त्र कति समयको पाहुना हो?’ ओलीले भने।
अध्यक्ष ओलीले भदौ २३ र २४ को घटना पूर्वनियोजित र षड्यन्त्रकारी भएको दाबी गरे । निर्वाचनपछि पहिलोपटक सार्वाजनिक कार्यक्रममा बोलेका ओलीले सो घटना आकस्मिक आक्रोशबाट सृजित मात्र नभएको दाबी गरे।
उनले भने, ‘भदौ २३ र २४ को घटना हामी (राजनीतिक दल) र देशविरुद्ध थियो। यो कुरा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले पनि बोलेको छ। असंगठित रूपमा निस्किएका जेनजी युवालाई ढाल बनाइएको हो।’
संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन र विभिन्न उद्योग, राजनीतिक दलका नेताका घरहरू ‘लोकेट’ गरेरै विध्वंश मच्चाइएको उनको दाबी छ।