काठमाडौं। शेयर बजारमा बुधबार सामान्य कारोबार भयो। दिनभर उतारचढावमा रहेको बजारमा नेप्से परिसूचक जम्मा २.६६ अंकले बढेर २७८० अंकमा टुंगियो। अघिल्लो दिन २२.२१ अंकले उकालो लागेको बजार आज भने सुस्त गतिमै रह्यो।
आजको कारोबारमा १४९ कम्पनीका शेयरको भाउ बढ्यो, ११६ को घट्यो र ६ को अपरिवर्तित रह्यो । कारोबार रकमका हिसाबले भने बजार अघिल्लो दिनभन्दा सक्रिय देखियो। अघिल्लो दिनको ५ अर्ब २६ करोडको तुलनामा आज ५ अर्ब ७३ करोडको कारोबार भयो।
आजको बजारमा निर्जीवन बीमा समूह सबैभन्दा आकर्षक रह्यो । यो समूह ३.३७ प्रतिशतले बढेर वैशाख २ यताकै उच्च बिन्दुमा पुग्यो। बजेटले तेस्रो पक्षको बीमांक रकम दोब्बर बढाई १० लाख पुर्याएको घोषणाले निर्जीवन बीमा कम्पनीको कारोबार विस्तारमा सहयोग पुग्ने अपेक्षाले लगानीकर्ताको ध्यान यस क्षेत्रतर्फ खिचिएको हो। अघिल्लो दिन सबैभन्दा बढी ६ प्रतिशतले उकालो लागेको फाइनान्स समूह आज भने १.१६ प्रतिशतले ओर्लियो ।
बढ्ने समूहमा जीवन बीमा १.७३ प्रतिशत, विकास बैंक ०.६६ प्रतिशत, माइक्रोफाइनान्स ०.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४२ प्रतिशत र होटल तथा पर्यटन ०.१८ प्रतिशतले अगाडि बढे भने घट्ने समूहमा अन्य समूह २.३६ प्रतिशतले सबैभन्दा बढी तल झर्यो । फाइनान्स १.१६, व्यापार ०.२४, लगानी ०.२०, जलविद्युत् ०.११ र बैंकिङ ०.१३ प्रतिशतले घटे ।
व्यक्तिगत कम्पनीतर्फ हेर्दा कालिन्चोक हाइड्रोपावर १४.९९ प्रतिशतले बढेर आजको सर्वोच्च लाभ कमाउने कम्पनी बन्यो । एसबीएल डिबेन्चर (२०८४) १४.९३ प्रतिशत, विजय लघुवित्त ८.७३ प्रतिशत, सयपत्रि हाइड्रोपावर ७.०५ प्रतिशत र नेपाल इन्स्योरेन्स ६.१७ प्रतिशतले बढे । गिरावटतर्फ भने नेपाल पुनर्बीमा ५.१८ प्रतिशतले सबैभन्दा बढी घट्यो भने सेन्ट्रल फाइनान्स ३.४८ प्रतिशत, हिमालयन रिइन्स्योरेन्स र त्रिशूली जलविद्युत् दुवै ३.३९ प्रतिशतले ओर्लिए । आजका सर्वाधिक कारोबार हुने कम्पनीमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर रहे ।