काठमाडौं। एमसीसी नेपाल कम्प्याक्ट परियोजनाअन्तर्गत नेपालमा ७५ किलोमिटर सडकको स्तरोन्नति र मर्मत सम्भार हुने भएको छ। परियोजनाअन्तर्गत दुई वर्षभित्र एउटा सडकको स्तरोन्नति र अर्को सडकको मर्मतसम्भार गरिने भएको हो। यी दुवै सडकको निर्माणकार्य सन् २०२६ देखि सुरु भई ०२८ भित्र सम्पन्न गर्नुपर्ने छ।
एमसीसी नेपाल कम्प्याक्टका अनुसार परियोजनाअन्तर्गत धानखोला-लमही सडक खण्डको ४० किलोमिटर स्तरोन्नति र नारायणघाट-मुग्लिङ सडक खण्डको ३५ किलोमिटर मर्मतसम्भार गरिनेछ। नेपालमा कम्प्याक्ट परियोजनामा सन् २०२३ अगस्टदेखि २०२८ अगस्टसम्म पाँच वर्षको अवधि तोकिएको भए पनि सडक निर्माण कार्य सुरु हुनुअघि विभिन्न प्रारम्भिक गृहकार्य र तयारी गर्नुपर्ने भएकाले लामो समयावधि राखिएको अधिकारीहरूले बताएका छन्।
सडक मर्मत परियोजनाको कार्यान्वयन स्वीकृत कार्य योजना र सम्झौता व्यवस्थाअनुरूप अगाडि बढिरहेको छ। धानखोला-लमही सडक खण्डमा हाल प्रारम्भिक निर्माण र परिचालन गतिविधिहरू सञ्चालनमा छन्, भने नारायणघाट-मुग्लिङ सडक खण्डका लागि तयारी गतिविधि योजनाअनुसार अगाडि बढिरहेका छन्।
कम्प्याक्टको अवधि पाँच वर्षको हुन्छ। यसबीच विभिन्न तयारी गर्नुपर्छ। धानखोला सडकको शिलान्यास भइसकेको छ। निर्माणकार्य जारी छ। नारायणघाट सडकको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेकाले शीघ्र ठेक्का लाग्ने र दुवै सडकको निर्माणकार्य दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ। धानखोला-लमही सडक खण्डको स्तरोन्नतिका लागि एमसीए-नेपालले सन् २०२५ डिसेम्बर २२ मा पूर्व-पश्चिम राजमार्गको लगभग ४० किलोमिटर खण्डको स्तरोन्नतिका निम्ति २० मिलियन अमेरिकी डलरको ठेक्का प्रदान गरेको थियो।
दुवै सडक खण्डका लागि संयुक्त अनुमानित लागत लगभग ३१ मिलियन अमेरिकी डलर रहेको छ।
परियोजनामा पूर्ण-गहिराइ पुनःप्राप्ति र सुपरपेभ प्रविधिको उपयोग गरिनेछ। सडक निर्माणसम्बन्धी सम्झौता सन् २०२६ जनवरी २५ मा भए पनि परियोजनाको शिलान्यास सन् २०२६ अप्रिल २९ मा गरिएको थियो। यो परियोजना दाङका गढवा र राप्ती ग्रामीण नगरपालिका तथा लमही नगरपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकामा कार्यान्वयन गरिनेछ।
नारायणघाट-मुग्लिङ सडक खण्डको ३५ किलोमिटर आवधिक मर्मत सम्भारका लागि डिजाइन कार्य हाल अन्तिम चरणमा छ। खरिद प्रक्रिया सन् २०२६ जुलाईसम्ममा सुरु हुनेछ। यो परियोजना चितवनको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकामा कार्यान्वयन गरिनेछ।
दुवै सडक खण्डका लागि संयुक्त अनुमानित लागत लगभग ३१ मिलियन अमेरिकी डलर रहेको छ। सन् २०२६ को अप्रिल अन्त्यसम्ममा परियोजनाअन्तर्गत कुल ५ करोड ५४ लाख १७ हजार ६३ अमेरिकी डलर खर्च भइसकेको छ। जसमा परिचालन, प्राविधिक सहयोग, डिजाइन र कार्यान्वयनसम्बन्धी खर्चहरू समावेश छन्।
कार्यक्रमको कार्यान्वयन स्थिर रुपमा अगाडि बढिरहेको बताउँदै एमसीए-नेपाल सहमत सम्झौता समयसीमा र आवश्यकताअनुरुप काम गर्न प्रतिबद्ध रहेको छ। धानखोला-लमही सडक खण्डको काम अझै प्रारम्भिक चरणमा रहेकाले मध्यपूर्वको वर्तमान भूराजनीतिक अवस्थाबाट प्रत्यक्ष प्रभाव परेको छैन। परिस्थितिको निरन्तर अनुगमन, जोखिमको मूल्याङ्कन र आवश्यकताअनुसार न्यूनीकरणका उपाय अवलम्बन गर्दै जाने छ।
कम्प्याक्टका अनुसार हालको कार्यान्वयनको गति र ठेकेदारसँगको समन्वयका आधारमा कम्प्याक्टको अन्तिम मितिअघि सबै काम सम्पन्न हुने अपेक्षा गरिएको छ।