काठमाडौं। काठमाडौँको बूढानीलकण्ठमा सञ्चालित होटल सब्रिनाले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। १०३ कोठाको अत्याधुनिक पाँचतारे होटलमा स्तरोन्नति भइरहेको होटलले थप पुँजी संकलन र ऋण व्यवस्थापनका लागि आईपीओमा जाने भएको हो।
तर, होटलको आम्दानीको तुलनामा ऋणको भार उच्च देखिएपछि क्रेडिट रेटिङ एजेन्सीले यसको वित्तीय साखमा उच्च जोखिम रहेको औँल्याएको छ। केयर रेटिङ नेपालका अनुसार होटल सब्रिनाले बैंकहरूबाट उपयोग गर्ने कुल १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋण सुविधाका लागि सिंगल बी प्लस रेटिङ पाएको छ। एजेन्सीले कम्पनीको संस्थागत साखलाई पनि इस्युआर रेटिङ बी प्लस दिएको छ। जसको अर्थ होटलले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको बुझिन्छ।
सन् २०१८ मा स्थापित होटल सब्रिनाले आफूलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गरिसकेको छ। सन् २०२४ जुन ९ (२०८१ जेठ २७ गते) मा पब्लिक लिमिटेड बनेको यो होटलले ठूलो पुँजीगत खर्च गरिरहेको छ।
हाल ४८ वटा कोठा सञ्चातिल होटल अन्तर्राष्ट्रिय होटल चेन एकोर्न होटल्सको ‘ट्राइब’ ब्रान्डअन्तर्गत यसलाई सञ्चालन गर्न लागिएको हो। यही महत्वकांक्षी परियोजनाका लागि थप स्वपुँजी जुटाउन र पुँजी संरचनालाई सन्तुलित बनाउन होटल आईपीओमा जान लागेको हो।
व्यापार र ऋणको असन्तुलित अवस्था
होटलको हालको वित्तीय अवस्था दबाबपूर्ण छ। आर्थिक वर्ष २०२४/२५ (असार २०८२) को लेखा परीक्षणअनुसार होटलको कुल वार्षिक व्यापार मात्र ७ करोड १० लाख रुपैयाँ रहेको छ। जबकि, होटलले लिने कुल ऋणको सीमा १ अर्ब २५ करोड रुपैयाँ छ।
जसमा ६२ करोड २८ लाख दीर्घकालीन र ६२ करोड ७२ लाख रुपैयाँ अल्पकालीन कर्जा रहेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ करोड ५० लाख र त्यसअघि ८ करोड रुपैयाँ थियो।
व्यापार सुस्त हुँदा होटल निरन्तर नोक्सानीमा छ। विगत चार आर्थिक वर्षमध्ये तीन वर्ष (२०७९, २०८१ र २०८२) मा होटलले खुद नोक्सानी बेहोरेको छ। होटलको सञ्चालन नाफा सन् २०२३ मा ३ करोड ६० लाख रहेकोमा २०२५ मा घटेर १ करोड ५० लाखमा खुम्चिएको छ। तर, बैंकको ब्याज खर्च ४ करोड २० लाख पुगेको छ। यसले गर्दा होटलको आफ्नो कमाइले ब्याज तिर्नसमेत अपुग देखिएको छ।
यसको अर्थ होटलको कमाइले बैंकको ब्याजको आधा हिस्सा पनि धान्न सक्दैन। यसको ब्याज कभरेज अनुपात निकै कमजोर अर्थात् ०.३६ गुणा मात्रै छ। जुन बैंकका लागि अत्यन्तै जोखिमपूर्ण मानिन्छ। हाल होटलको ऋण र पुँजीको अनुपात १.११ गुणा रहेको छ।
होटल सब्रिनामा हस्पिटालिटी, बैंकिङ, घर जग्गा र शिक्षा क्षेत्रमा लामो अनुभव भएका प्रवद्र्धकहरूको लगानी रहेको छ। प्रवद्र्धक समूहको बलियो व्यावसायिक पृष्ठभूमि र अन्तर्राष्ट्रिय ब्रान्ड ‘एकोर्न’सँगको आबद्धता यसको मुख्य सबल पक्ष हो। कूल तीन रोपनी जग्गामा फैलिएको यो होटल पाँचतारेमा स्तरोन्नति भएपछि र वैदेशिक पर्यटकको चाप बढेपछि आम्दानी बढ्ने प्रवर्द्धकहरूको अपेक्षा छ।
यद्यपि, काठमाडौंमा बढ्दो होटलहरूको प्रतिस्पर्धा, बैंकको चर्को ब्याजदर र निर्माण कार्यमा हुन सक्ने ढिलाले गर्दा एक अर्ब २५ करोडको ऋण सुरक्षित अवतरण गराउनु होटल व्यवस्थापनका लागि ठूलो चुनौती हुने रेटिङ प्रतिवेदनले औँल्याएको छ।