काठमाडौं। लामो समयदेखि माइक्रो ब्रुअरीको लाइसेन्स खुलाउने तयारी सरकारले गरे पनि सफल हुन सकेको छैन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको उद्योग विभागले पटक-पटक कार्यविधि बनाएर मूर्तरुप दिन खोजिए पनि हालसम्म सफल हुन सकेको थिएन।
तर, आर्थिक वर्ष २०८३/८४ को बजेटमा माइक्रो ब्रुअरीलाई मदिरा उद्योगको रुपमा दर्ता गरी अन्तःशुल्कको दायरामा ल्याउने विषय समेटिएपछि के अब सरकारले लाइसेन्स खुलाउन लागेको हो भन्ने चर्चा चल्न सुरु गरेको छ।
उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बजेटमा आएका विषयहरु कार्यन्वयनका लागि तयार रहेको बताए। ‘अहिले हामीले माइक्रो ब्रुअरीको लाइसेन्स र सञ्चालनका लागि आवश्यक कार्यविधि बनाएर राय लिन अर्थमन्त्रालयमा पठाएका छौँ,’ महानिर्देशक बस्नेतले भने, ‘बजेटमै समेटिएकाले सकरात्मक राय आउने र कार्यन्वयनमा जाने अपेक्षा हामीले लिएका छौँ।’
अर्थ मन्त्रालयबाट आवश्यक राय आएपछि कार्यन्वयनका लागि उद्योग विभागले औद्योगिक लगानी प्रवर्द्धन बोर्डमा पेश गर्नेछ। बोर्डको अध्यक्षता उद्योग मन्त्रीले गर्ने छ। यसमा विभिन्न निकायका व्यक्तिहरु सदस्य रहने गरेको छ। उद्योग विभागका तत्कालिन महानिर्देशक राजेश्वर ज्ञवालीको संयोजकत्वमा रेष्टुरेन्टका लागि माइक्रो ब्रुअरी सञ्चालन गर्न दिन नयाँ मापदण्ड बनाएको थियो। सो मापदण्डको मस्यौदा अहिले अर्थ मन्त्रालयमा पुगेर बसेको छ।
यसअघि उद्योग विभागले २०८० माघमा बनाएको मापदण्ड औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डले स्वीकृत नगरेपछि कार्यान्वयनमा आउन सकेको थिएन। २०७९ साउनमा उच्च अदालत पाटनले माइक्रो ब्रुअरी सञ्चालन गर्न दिन सरकारलाई परमादेश दिएपछि पनि बेवास्ता गरिरहेको भन्दै मानहानीको मुद्दासमेत दर्ता भएको थियो। उद्योग मन्त्रालयले मापदण्ड स्वीकृत नभएको र नयाँ मापदण्ड बनाइरहेकाले केही समयभित्रै कार्यान्वयनमा लैजाने प्रतिबद्धता अदालतमा गरेको थियो।
तयारी बियरभन्दा सस्तो हुन्छ
माइक्रो ब्रुअरीको लाइसेन्स पाएर रेष्टुरेन्ट वा होटलले बियर उत्पादन गर्न सके तयारभन्दा धेरै सस्तो पर्ने व्यवसायीहरुको दाबी छ। यद्यपि, नेपालमा माइक्रो ब्रअरीमार्फत उत्पादन भएका बियर कतिमा बिक्री गर्ने र अन्तःशुल्क कति लिने भन्ने टुंगो लागिसकेको छैन।
छिमेकी मुलुक भारतमा तयारभन्दा माइक्रो ब्रुअरीको बियर धेरै सस्तोमा पाइन्छ। भारतको बैंग्लोर र गोवामा प्रतिलिटर भारतीय २० देखि ३० रुपैयाँमा पाइन्छ।
माइक्रो ब्रुअरी सञ्चालनमा ल्याउन सके होटल तथा रेष्टुरेन्ट क्षेत्रमा ठूलो फाइदा हुने व्यवसायीहरुको भनाइ छ। नेपाली र भारतीयहरु बियर पारखी हुने भएकाले अहिलेको तुलनामा अझ व्यापार बढ्ने विश्वास व्यवसायीको छ।
यस्तो छ मापदण्ड
माइक्रो ब्रुअरी भन्नाले एउटा रेष्टुरेन्टको अभिन्न अंगको रुपमा वार्षिक २ हजार ५०० हेक्टोलिटरभन्दा कम बियर उत्पादन गरी उत्पादन स्थलमै बिक्री वितरण गर्ने ब्रुअरी हो। यस्तो माइक्रो ब्रुअरीसहितको रेष्टुरेन्टको क्षमता एउटा मात्र भएको हकमा न्यूनतम २० सीट क्षमता हुनुपर्ने छ।
यस्तो माइक्रो ब्रुअरीसहितको रेष्टुरेन्टले सम्बन्धित निकायबाट मदिरा बिक्रीसम्बन्धी इजाजत लिनुपर्छ। माइक्रो ब्रुअरीसहितको रेष्टुरेन्ट पर्यटनमूलक उद्योगको वर्गीकरणमा दर्ता हुनेछ।