काठमाडौं। लोकप्रिय न्यूज च्यानल ‘न्यूज २४’को प्रवर्द्धक कम्पनी नेपाल ब्रोड कास्टिङ च्यानल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले ९ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि इस्युआर रेटिङ गराएको हो।
तर, आईपीओको तयारी गरिरहँदा कम्पनीको वित्तीय अवस्था भने निकै जर्जर देखिएको छ। आम्दानीमा आएको गिरावट, नउठ्ने उधारोको चाप र बैंक ऋणको उच्च भारका कारण क्रेडिट रेटिङ एजेन्सीले कम्पनीको साख (रेटिङ)मा कटौती गर्दै लगानी जोखिम हुने संकेत गरेको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको इस्युअर रेटिङलाई ‘डबल ‘बी माइनस’बाट घटाएर ‘बी प्लस’ कायम गरेको छ। यो रेटिङ पाउनुको अर्थ कम्पनीले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमतामा ‘उच्च जोखिम’ हुनु र कुनै पनि बेला ‘डिफल्ट’ (टाट पल्टिने) अवस्थामा पुग्न सक्नु हो।
रिपोर्टका अनुसार कम्पनीले थप व्यावसायिक विस्तारका लागि पुँजी जुटाउन आईपीओको बाटो रोजेको हो। विशेष गरी विज्ञापन बजारमा आएको मन्दी र बढ्दो सञ्चालन खर्चलाई व्यवस्थापन गर्न कम्पनीलाई थप पुँजीको आवश्यकता परेको देखिन्छ।
रेटिङ रिपोर्टअनुसार कम्पनीको पछिल्लो वित्तीय कार्य सम्पादनले लगानीकर्ताका लागि जोखिमको संकेत गरेको छ। रिपोर्टअनुसार कम्पनीले विज्ञापन बजाए बापतको पैसा उठाउन औसतमा ६०५ दिन (करिब २० महिना) कुर्नुपर्ने अवस्था छ। अघिल्लो वर्ष यस्तो अवधि ३७३ दिन थियो।
अझ डरलाग्दो पक्ष के छ भने, कम्पनीले बजारबाट उठाउनुपर्ने कुल उधारोमध्ये ७२ प्रतिशत रकम १८० दिन (६ महिना)भन्दा बढी समयदेखि अलपत्र छ। यसरी अर्बौंको उधारो बजारमा फसेपछि कम्पनीलाई कर्मचारीको तलब खुवाउन, स्याटेलाइट खर्च धान्न र दैनिक सञ्चालन खर्च व्यवस्थापन गर्न निकै सकस भइरहेको छ। नगद प्रवाह ठप्प जस्तै भएपछि कम्पनी बैंकको ‘ओभरड्राफ्ट’मा पूर्णतः निर्भर बनेको छ।
कम्पनीको दयनीय वित्तीय सूचक, व्यापार र नाफामा पहिरो
आर्थिक वर्ष २०२४/२५ मा न्यूज २४ को व्यापारमा २१ प्रतिशतको गिरावट आएको छ। अघिल्लो वर्ष ११ करोड ४० लाख रुपैयाँ व्यापार गरेको कम्पनीको आम्दानी गत वर्ष घटेर ९ करोड रुपैयाँमा सीमित भएको छ।
सन् २०२१ मा ९ करोड ९० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको यो कम्पनीले २०२२ मा १० करोड ८० लाख र सन् २०२३ मा १० करोड २० लाख रुपैयाँको आम्दानी गरेको थियो।
यस्तै, चालू वर्षको आम्दानी घट्दा खुद नाफामा त झन् पहिरो नै गएको छ। आर्थिक वर्ष २०२३/२४ मा १ करोड ९० लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत वर्ष मात्र ३० लाख रुपैयाँ नाफा गरेको छ। चालू आवको पहिलो ६ महिनामा व्यापार झनै सुस्त भएर मात्र ३ करोड ५० लाख रुपैयाँमा झरेको छ।
कम्पनीको वित्तीय स्वास्थ्य कतिसम्म कमजोर छ भन्ने कुरा कम्पनीको ऋण र नाफाको अनुपातले देखाउँछ। रिपोर्टअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा कम्पनीको ऋण र सञ्चालन नाफाको अनुपात ह्वात्तै बढेर १७.४१ गुणा पुगेको छ। जुन अघिल्लो वर्ष ७.७९ गुणा मात्र थियो। यसको सीधा अर्थ हो, कम्पनीले गर्ने वार्षिक सञ्चालन नाफाको तुलनामा उसको ऋणको बोझ १७ गुणा बढी छ।
कम्पनीले बैंकबाट पाएको कुल ऋण सुविधाको करिब ९५ प्रतिशत हिस्सा उपयोग गरिसकेको छ। यसले कम्पनीसँग अब दैनिक खर्च चलाउन थप ऋण लिन सक्ने ठाउँ लगभग समाप्त भएको देखाउँछ।
यो कम्पनीको नेतृत्व र ५० प्रतिशत सेयर स्वामित्व अनिल जोशी (अध्यक्ष)को रहेको छ भने बाँकी ५० प्रतिशत सेयर अन्य व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरूको छ। १४ वर्षदेखि सञ्चालनमा रहेको न्यूज २४ एक स्थापित मिडिया ब्रान्ड भए पनि नेपालको विज्ञापन बजार परम्परागत टेलिभिजनबाट डिजिटल प्लेटफर्म (युट्युब, फेसबुक र टिकटक) तर्फ मोडिएकाले कम्पनीले आफ्नो बजार हिस्सा जोगाउन संघर्ष गरिरहनु परेको छ।
कम्पनीले व्यवसाय विस्तार र ऋण व्यवस्थापनका लागि ९ करोडको आईपीओ ल्याउन लागेको भए पनि यसको कमजोर वित्तीय सूचकले लगानीकर्ताहरू सतर्क हुनस पर्ने देखिन्छ। बजारमा फसेको २० महिना लामो उधारो समयमै नउठ्ने र नाफाको मार्जिन सुधार नहुने हो भने न्यूज २४ को वित्तीय संकट अझै बढ्ने र यसले कर्मचारीको पारिश्रमिकदेखि समग्र सञ्चालनमै गम्भीर असर पार्ने रेटिङ रिपोर्टले औंल्याएको छ।