काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटसम्बन्धी अन्तरक्रिया आयोजना गरेको छ। कार्यक्रममा आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटको औचित्य तथा यसले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पार्न सक्ने सम्भावित प्रभावबारे छलफल गरिएको आईक्यानले जनाएको छ।
कार्यक्रम उद्घाटन सत्रमा संस्थाका उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेले संस्थाद्वारा वित्त तथा कर नीतिसम्बन्धीमा पेश गरिएका सुझाव, डिजिटलीकरण, राजस्व परिचालनको प्रभावकारिता तथा सार्वजनिक वित्त व्यवस्थापनमा सुधारलाई प्राथमिकतामा राख्दै आईक्यान पूर्व–बजेट सुझाव प्रस्तुत गरेका थिए।
उद्घाटन सत्रपछि आर्थिक वर्ष २०८३÷८४ को बजेटको आर्थिक विश्लेषण, टिप्पणी तथा कार्यान्वयन” विषयक प्राविधिक सत्र सञ्चालन गरिएको थियो। उक्त सत्रको सहजीकरण संस्थाका पार्षद् सीए ठाकुरप्रसाद अधिकारीले गरेका थिए।
सत्रमा इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टुडाइज कार्यकारी अध्यक्ष डा. विश्वास गौचनले कार्यपत्र प्रस्तुत गर्दै समष्टिगत आर्थिक मान्यता, बजेटका लक्ष्य, खर्च प्राथमिकताहरू, घाटा वित्तीय व्यवस्थापनका रणनीति तथा न्यून आर्थिक वृद्धि, उच्च सार्वजनिक ऋण, घट्दो जनसंख्या र न्यून प्रतिव्यक्ति आयजस्ता चुनौती समाधानका उपायबारे विश्लेषण प्रस्तुत गरे।
करका दरमा गरिएका परिवर्तन, कर विवादसम्बन्धी मुद्दामा प्रदान गरिएका छुट, अनौपचारिक क्षेत्रलाई कर प्रणालीभित्र ल्याउने उपाय तथा समष्टिगत आर्थिक सूचकांकको विश्लेषण, रोजगारी सिर्जना र जलविद्युत् तथा पर्यटनजस्ता प्रमुख क्षेत्रको प्रभावकारी उपयोगमार्फत दिगो अर्थतन्त्र निर्माणका विषयमा छलफल गरिएको थियो।
दोस्रो प्राविधिक सत्र वित्त विधेयक २०८३ द्वारा कर कानुनमा भएका परिवर्तन विषयमा केन्द्रित थियो। उक्त सत्रमा संस्थाका पार्षद सीए उमेशराज पाण्डेयले कार्यपत्र प्रस्तुत गरेका थिए। उनले आयकर, मूल्य अभिवृद्धि कर, भन्सार महसुल तथा अन्तःशुल्कसम्बन्धी प्रमुख संशोधनबारे विस्तृत जानकारी दिए।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू, पार्षद्हरू, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ तथा नेपाल अडिटर्स एसोसिएसनका अध्यक्ष, संस्थाका सदस्यहरू, विभिन्न संस्थाका पदाधिकारी तथा सरोकारवालासहित करिब १७० जनाको सहभागिता थियो।
त्यसैगरी आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठ, संस्थाका पूर्वअध्यक्ष सीए सुदर्शनराज पाण्डे तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ प्यानल सदस्यको रूपमा सहभागी थिए।