काठमाडौं। ६ वटा कम्पनीले सेयर निष्कासन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन्। दुईवटा हाइड्रो र चार उत्पादन तथा प्रशोधन क्षेत्रका गरी ६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग गरेका हुन्।
सुपरहेवा पावर, रघुगंगा हाइड्रोपावर, राजेश मेटल क्राफ्ट्स, अन्नपूर्ण माछा दाना उद्योग, युवरानी एग्रो इन्डस्ट्रिज र प्रिमियर डिस्टिलरीले आईपीओ निष्कासन गर्ने भएका हुन्।
रघुगंगा हाइड्रोपावरले अंकित मूल्य १०० रुपैयाँ दरकै १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्कासन गर्नेछ। कम्पनीले बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ।
राजेश मेटल क्राफ्टले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्कासन गर्नेछ। कम्पनीकोे बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
अन्नपूर्ण माछा दाना उद्योगले पनि १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ बराबरको १० लाख ९ हजार ५३१ कित्ता सेयरका लागि बोर्डमा निवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
प्रिमियर डिस्टिलरीले अंकित मूल्य १०० रुपैयाँ दरमै २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
सुपर हेवा पावरले अंकित मूल्य १०० रुपैयाँ दरको १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता सेयर निष्कासन अनुमति मागेको छ। बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
यस्तै, युवरानी एग्रो इन्डस्ट्रिजले १६ करोड ५० लाख रुपैयाँ बराबरको १६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ। कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।