काठमाडौं। नेपालस्थित एयरलाइन्स प्रतिनिधिहरूको बोर्ड (बार्न) ले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। बार्नले ललितपुरको गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस होटलमा ३०औँ तथा ३१औँ वार्षिक साधारण सभा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको हो।
‘रेजिलियन्ट स्काइज, सेयर्ड भिजन’ भन्ने मूल नारासहित सम्पन्न साधारण सभामा नेपालमा सञ्चालनमा रहेका विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सका प्रतिनिधिहरू सहभागी भएका थिए। सभाले संस्थाका गतिविधिको समीक्षा, उद्योगसँग सम्बन्धित समसामयिक विषयमा छलफल, आर्थिक प्रतिवेदन अनुमोदन तथा नयाँ कार्यसमिति गठन गरेको जनाएको छ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा नेपाल वायुसेवा निगमका अनिल घिमिरे चयन भएका छन्। यस्तै प्रथम उपाध्यक्षमा इन्डिगोका भोला विक्रम थापा, द्वितीय उपाध्यक्षमा एओसी–एनका अभित श्रेष्ठ, महासचिवमा कतार एयरवेजका सरीक बोगटी तथा कोषाध्यक्षमा फ्लाईदुबईका नवराज शाही निर्वाचित भएका छन्।
कार्यसमितिका सदस्यहरूमा टर्किस एयरलाइन्सका सेरकान बसर, क्याथे प्यासिफिककी जुनु मलेकु, चाइना सदर्न एयरलाइन्सका धीरज चन्द्र श्रेष्ठ, थाई एयरवेजका सन्तोष विक्रम राना, मलेसिया एयरलाइन्सकी त्रिप्ति क्षेत्री, एमिरेट्सका रमेश लामिछाने तथा फिट्स एयरका बासु लामिछाने रहेका छन्।
साधारणसभाका क्रममा भर्टेल टेक्नोलोजिजले ‘न्यु डिस्ट्रीब्युसन क्यापाबिलिटी ‘एनडीसी’ प्रविधि तथा एयरलाइन रिटेलिङको भविष्यबारे विशेष प्रस्तुति दिएको थियो। उक्त प्रस्तुतिमा विश्व उड्डयन उद्योगमा विकसित हुँदै गएका नयाँ वितरण प्रणाली र डिजिटल प्रवृत्तिबारे जानकारी गराइएको बार्नले जनाएको छ।
बार्नले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने भर्टेल टेक्नोलोजिज तथा सोल्टी समूहप्रति आभार व्यक्त गरेको छ।
नवनिर्वाचित कार्यसमितिले एयरलाइन्स कम्पनीहरू, नियामक निकाय तथा अन्य सरोकारवालाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै नेपालको उड्डयन क्षेत्रको दिगो विकास, विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
सन् १९९० मा स्थापना भएको बार्न नेपालमा सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको छाता संगठन हो। यस संस्थाले नेपालका उड्डयन सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै हवाई सेवा क्षेत्रको विकास र नीतिगत सुधारका लागि काम गर्दै आएको छ।