काठमाडौं। संघीय संसद् प्रतिनिधिसभा बैठक आज बस्ने कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरेको छ।
आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल र विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३÷८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसपछि आव २०८३÷०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन्।
व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न महत्त्वपूर्ण विधेयक सदनमा प्रस्तुत गर्नेछन्। उनले ‘विनियोजन विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै उक्त विधेयक संसदमा प्रस्तुत गर्नेछन्।
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै ती विधेयक संसद्मा प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक र महासन्धि पनि पेस हुनेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ नं. ८१’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ सदनमा पेस गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए।