काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा प्रस्तावित मेट्रो रेल परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीबाट आवेदन मागेको छ।
रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले सार्वजनिक सूचना जारी गर्दै २७.५ किलोमिटर लामो रेलमार्गको डीपीआर तयारीका लागि अन्तर्राष्ट्रिय स्तरको ‘आशयपत्र’ आह्वान गरेको हो।
प्रस्तावित २७.५ किमिको रेलमार्ग नारायणगोपाल चोकबाट सुरु भई चाबहिल, कोटेश्वर, सातदोबाटो र रत्नपार्क हुँदै पुनः नारायणगोपाल चोकमै पुग्ने चक्रपथ रुटमा सञ्चालन हुने गरी योजना बनाइएको रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले बताए।
इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले आगामी जेठ ३२ सम्म आशयपत्र पेस गरिसक्नुपर्नेछ। आयोजना अनुसार डीपीआर तयारीको सम्पूर्ण खर्च नेपाल सरकारले आफ्नै स्रोतबाट बेहोर्नेछ।
आयोजनाले योग्य अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–जीपी प्रणालीमार्फत आवेदन पेस गर्न आग्रह गरेको छ।
लामो समयदेखि चर्चामा रहेको काठमाडौं मेट्रो रेल परियोजनालाई कार्यान्वयनतर्फ अघि बढाउने तयारीस्वरूप डीपीआर निर्माण प्रक्रिया अघि बढाइएको आयोजनाको भनाइ छ।
यसअघि काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि डिपिआर तयार गर्न २०७६ माघ ८ गते रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी तथा नेपालकै सिइएमएटी कन्सल्ट्यान्ट (संयुक्त)बीच सम्झौता भएको थियो। तर, डीपीआर तयार नगर्दै ठेक्का सम्झौता तोडिएको थियो।