काठमाडौं। पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान व्यवसायी हुने भएकी छन्। गीतमार्फत विश्वभर रहेका नेपालीहरु माझ चिनिएकी उनले गायनसँगै व्यवसायमा पाइला राख्ने भएकी हुन्। उनले साउन १ गतेबाट काठमाडौंको मध्यबानेश्वरमा ‘रमणी बाई एलिना’ नामक कपडा पसल सुरू गर्न लागेकी हुन्।
नेपालमै बसेर सांगीतिक यात्रामा निरन्तरता दिने र रोजगारीका लागि विदेश नजाने सोचका साथ करिब एक करोडभन्दा बढी लगानीमा ‘रमणी बाई एलिना’ नामक कपडा पसल सञ्चालन गर्न लागिएको जानकारी दिइन्।
‘अहिलेसम्म कमाएको आम्दानीलाई नेपालमै सदुपयोग गर्ने र केहीलाई रोजगारी दिने उद्देश्यका साथ साउन १ गतेभित्रै सञ्चालनमा ल्याउने गरी कपडा पसल खोल्ने लागिएको हो,’ उनले भनिन्, ‘मैले संगीतमा जति कमाएँ, त्यो लगानी गरेको छ, आशा छ यहाँ पनि सबैको माया पाउने छु।’
अनलाइन र अफलाइन गरी दुवै माध्यमबाट बिक्री वितरण गर्ने सोच राखेको बताउँदै कम्तीमा ५ देखि ७ जनालाई नयाँ रोजगारी सिर्जनासमेत उनको तयारी छ। ‘मैले कमाएको पैसाबाट गरेको लगानीमा केहीले रोजगारी पाउने छन्,’ गायिका चौहानले भनिन्, ‘यो हामी कलाकारको दायित्व पनि हो, केही रकम सरकारलाई राजश्वको रुपमा समेत जानेछ।’
धेरै चर्चित कलाकारहरु विदेशी भूमिमा गएर काम गरिरहेको बेला गायिका चौहानले नेपालमै बस्ने र लगानी गरेर आत्मानिर्भर बन्ने योजना बुनेकी हुन्। ‘कार्यक्रमको निम्तो आउँदा विदेश गएपछि बस्ने गरी जान्न,’ उनले थपिन्, ‘मलाई नेपालको धेरै माया लाग्छ, त्यसैले म यही बस्नका लागि लगानी विस्तार गरेको हुँ।’
पसलमा महिलाले लगाउने साडीदेखि कुर्तासम्म, शृङ्गारका सामानदेखि लेहेङ्गासम्म पाइने छ। ‘रमणी भनेको संस्कृति शब्द हो। यसको अर्थ सुन्दर स्त्री वा युवती भन्ने हुन्छ। एउटी महिला सुन्दर हुनलाई चाहिने सबै सामाग्री रमणी बाई एलिनामा पाइने छ,’ उनले भनिन्।
महिलाका लागि आवश्यक कपडाको व्यापार सुरु गरेकाले साउन महिनालाई उद्घाटनको महिनाको रुपमा राखिएको समेत बताइन्। साउनमा महिला र युवतीहरुले हरियो रङका धेरै कपडाहरु खरिद गर्ने र त्यसपछि तिजमा सारीको राम्रो माग हुने गरेको छ।
योसँगै दसैँ, तिहार र मंसिरपछि विवाहको सिजन हुने भएकाले त्यहीअनुसार समय मिलाएर सञ्चालनको तयारी थालिएको उनले बताइन्। अहिले उनको स्टोरको डेकोरेशनको काम चलिरहेको छ।