काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापार आयात र निर्यात दुवै १५ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा आयात र निर्यात दुवै उल्लेखनीय वृद्धि देखिएको छ।
सार्वजनिक तथ्यांकअनुसार यस अवद्यिमा नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवद्यिमा आयात १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ रहेको थियो। यस आधारमा आयात १४.८२ प्रतिशतले वृद्धि भएको देखिएको छ।
त्यसैगरी, निर्याततर्फ पनि सकारात्मक सुधार देखिएको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालबाट २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो। निर्यातमा १४.२५ प्रतिशतको वृद्धि भएको तथ्यांकले देखाएको छ।
यद्यपि, आयातको तुलनामा निर्यातको हिस्सा कम हुँदा व्यापार घाटा भने अझै उच्च रहेको छ। चालू आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा १४ खर्ब ४४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.९२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको यही अवधिमा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको थियो।
यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कुल व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । कुल वैदेशिक व्यापारमा १४.७५ प्रतिशतको वृद्धि देखिएको छ।
तथ्यांकअनुसार आयात निर्यात अनुपात पनि सामान्य रूपमा बढेको छ। अघिल्लो वर्ष ६.७७ रहेको अनुपात चालू आर्थिक वर्षमा बढेर ६.७९ पुगेको छ। कुल व्यापारमा निर्यातको हिस्सा १२.८८ प्रतिशतबाट घटेर १२.८२ प्रतिशतमा झरेको छ भने आयातको हिस्सा ८७.१२ प्रतिशतबाट बढेर ८७.१७ प्रतिशत पुगेको छ।