काठमाडौं। नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारी हुने भएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सोमबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। बैंकका अनुसार नेपालमा विशेषगरी जलनको उपचार, पुनःस्थापनामा सहयोग, डायलासिस सेवाको पहुँच र गुणस्तरीय स्वास्थ्य सेवाको बढ्दो आवश्यकतालाई दुवै पक्षले सहकार्यमार्फत सम्बोधन गर्नेछन्।
बैंकले नेपालभरि जलनका बिरामीको सघन उपचार, कृत्रिम अंग जडान र डायलासिस सेवा विस्तार गर्न धुलिखेल अस्पताललाई ६ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ।
दुई पक्षबीच भएको सम्झौताअनुसार धुलिखेल अस्पतालमा १० शय्याको सघन जलन उपचार कक्ष स्थापना गरिनेछ र अस्पताल व्यवस्थापनको नेतृत्वमा अन्य प्रदेशमा पनि यस्तै सुविधा विस्तार गरिनेछ।
यसका साथै बैंकले दुई वटा कृत्रिम अंग जडान तथा पुनःस्थापना सेवा इकाइ स्थापना गर्न र डायलासिस सेवालाई थप सुदृढ बनाउन सहयोग गरेको हो।
बैंक अध्यक्ष निर्वाणकुमार चौधरीले मानिसको जीवनमा सार्थक परिवर्तन ल्याउने विषयमा नबिल बैक र धुलिखेल अस्पतालको एकै उद्देश्य रहेकाले सहकार्यले सार्थकता पाउने विश्वास व्यक्त गरे।
सीईओ ज्ञवालीले साझेदारीमार्फत समग्र मुलुक र विशेषगरी गरिब तथा सीमान्तकृत समुदायका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्तिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। सम्झौता तीन वर्षसम्म लागू हुने बैंकले जनाएको छ।