काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, जलवायु विज्ञान महाशाखाले यस वर्षको मनसुन ऋतुका लागि अद्यावधिक जलवायु आँकलन सार्वजनिक गरेको छ।
जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशभर सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको छ।
वर्षाको आँकलन

महाशाखाका अनुसार यस मनसुन ऋतुमा देशभर सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ। कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशका पूर्वी भू–भाग र कोशी प्रदेशका दक्षिणी भू–भागमा सरदर भन्दा कम वर्षा हुने संभावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ। यस्तै सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भाग, कर्णाली प्रदेशका उत्तर–पश्चिमी भू–भाग, गण्डकी प्रदेश पूर्वी भू–भाग, बागमती प्रदेशका दक्षिणी भू–भाग, मधेश प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशका मध्य भू–भागमा सरदर भन्दा कम वर्षा हुने संभावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ। देशका बाँकी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको महाशाखाले उल्लेख गरेको छ।
अधिकतम तापक्रमको आँकलन

महाशाखाका अनुसार अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना रहको छ। कर्णाली प्रदेशका उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका दक्षिणी भू–भाग, गण्डकी प्रदेशका दक्षिणी भू–भाग, बागमती प्रदेशका दक्षिण–पश्चिमी भू–भाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भू–भाग र कोशी प्रदेशका उत्तर–पूर्वी तथा दक्षिणी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने संभावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ। यस्तै सुदूरपश्चिम प्रदेशका मध्य तथा उत्तरी भू–भाग, गण्डकी प्रदेशका उत्तर–पूर्वी भू–भाग र कोशी प्रदेशका मध्य भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी रहने संभावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू–भागमा सरदर भन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको महाशाखाले जनाएको छ।
न्यूनतम तापक्रमको आँकलन

महाशाखाका अनुसार न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका दक्षिणी भू–भाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भू–भाग, कोशी प्रदेशका दक्षिणी भू–भाग र कर्णाली, गण्डकी तथा बागमती प्रदेशका केही भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भाग, कर्णाली प्रदेशका उत्तर–पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका पूर्वी भू–भाग, गण्डकी प्रदेशका उत्तरी भू–भाग र कोशी प्रदेशका पूर्वी भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ। यस्तै देशका बाँकी भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको महाशाखाले उल्लेख गरेको छ।