काठमाडौं। धितोपत्र, बीमा र बैंकिङमा कसुर गरेको आरोपमा अहिलेसम्मकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार विशेष अदालतमा ३९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विगत पाँच महिनासम्म गरेको अनुसन्धानपछि विशेष अदालतमा मुद्दा दायर भएको हो। यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार बिहान प्रतिनिधिसभाको लेखा समितिको बैठकमा देशकै सबैभन्दा ठूलो वित्तीय अपराधको अनुसन्धान भइरहेको बताएका थिए।
अर्थमन्त्रीको भनाइ सार्वजनिक भएको केही घण्टामा उक्त मुद्दा विशेष अदालतमा दायर भएको हो। विशेष अदालतमा दर्ता भएको मुद्दामा हिमालयन रि–इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, हिमालयन क्यापसर्व लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड र हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालक, उच्च पदर्थ कर्मचारी र नेपाल बीमा प्राधिकरणका पूर्वअधिकारीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको हो।
यसअघि सरकार विवादस्पद व्यवसायी दीपक भट्टसहित व्यवसायी सुलभ अग्रवाल, उनकी श्रीमती सुभी अग्रवालसहित ३९ जनाले गैरकानुनी कारोबारबाट सम्पत्ति शुद्धीकरण गरेको अभियोगसहित मुद्दा दर्ता भएको हो। उनीहरूबाट एक खर्ब ६ अर्ब दुई करोड ५० लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ।
जसमा भट्टलाई मात्रै २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार बिगो दाबी गरिएको छ। यस्तै, जगदम्बा स्टिल्सका सञ्चालक अग्रवालसँग २५ अर्ब ५९ करोड २० लाख बिगो दाबी हुँदा उनकी श्रीमती सुभीसँग ३ अर्ब ९६ करोड ७८ लाख बिगो माग दाबी छ।
सोही मुद्दामा प्रतिवादी बनाइएका सुलभ र सुभीका छोरा कृषिभ अग्रवालसँग ३२ करोड ८३ लाख ८० हजार रहेको छ।
त्यस्तै व्यवसायी ऋषिराज मोरको नाममा ३ अर्ब ७८ करोड ८२ लाख, अमित मोरले ऋषिराज मोरको तर्फबाट भृकुटीबाट प्राप्त रकम १२ करोड, राजकुमार मोरले पनि भृकुटी स्टक ब्रोकिङबाट सीधै प्राप्त गरेको रकम २७ करोड ६९ लाख, भृकुटी स्टक ब्रोकिङ कम्पनीका अध्यक्ष रहेका सन्दीप चाचन अग्रवाल र भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिबाट १४ अर्ब ५८ करोड ७८ लाख, व्यावसायिक घराना शंकर ग्रुपका सञ्चालक साहिल अग्रवालविरूद्ध ६ अर्ब ४ करोड ३४ लाख बिगो दाबी गरेको छ।
त्यसबाहेक, हिमालयन रि–इन्स्योरेन्सका संस्थापक अध्यक्ष एवं व्यवसायी शेखर गोल्छासहित अन्य व्यवसायीहरु रोहित गुप्ता, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला, अमित मोर र राजीव मोरसमेतलाई २ अर्ब ७३ करोड ३३ लाख बिगो माग दाबी छ।
साथै, उपासना पौडेल, मनिष कुमार, शिशिर गैह्रे र दीपक कुमार श्रेष्ठसँग ६ अर्ब ४ करोड ३४ लाख, राजबहादुर शाहबाट १ अर्ब ४१ करोड ८० लाख, रितेश प्रधानसँग ३७ करोड, सुमेर शमशेर जबराबाट १ अर्ब २७ करोड ४१ लाख, सुवास बहादुर श्रेष्ठबाट ४५ करोड ९४ लाख, आशिष श्रेष्ठ, मृगेन्द्र नाथ रिमाल र सिद्धान्त झुनझुनवालाबाट ५९ करोड ७५ लाख, मनोज कुमार लाल कर्णबाट ७ अर्ब २२ करोड ४६ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षहरू शरद ओझा र मदन दहालविरुद्ध ३ अर्ब ५० करोड ३० लाखभन्दा बढी बिगो दाबी गरिएको छ।