काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनले रुसमाथि बढ्दो ड्रोन आक्रमणको उद्देश्य ‘भ्रम फैलाउने’ र देशको अर्थतन्त्रलाई क्षति पुर्याउने रहेको बताएका छन्।
युक्रेनले हालैका महिनाहरूमा रूसमा अझ गहिरो प्रहार गरेको छ। किएभले पछिल्लो समय नियमित रूपमा तेल प्रशोधन केन्द्रहरू र निर्यात क्षेत्रहरूमा प्रहार गरिरहेको छ।
“उनीहरूको लक्ष्य रुसी समाजमा विभाजन सिर्जना गर्ने, भ्रमको बीजारोपण गर्ने र आर्थिक क्षति पुर्याउने हो,” क्रेमलिनको बैठकमा रुसी सैनिकहरूलाई राष्ट्रपति पुटिनले भने, “तर तिनीहरू सफल हुँदैनन्।”
किएभले अग्रमोर्चाबाट एक हजार किलोमिटर (करिब ६२० माइल)भन्दा बढी टाढाको प्रमुख तेल प्रशोधन केन्द्रलाई आक्रमण गरेको बताएको केही घण्टापछि यो टिप्पणी आएको हो।
नेता पुटिनले युक्रेनी आक्रमणले ‘आर्थिक क्षति’ भएको स्वीकार गर्दै तर सबै कुरा तत्काल पूर्ववत् अवस्थामा आएको दाबी गरे। रुसी ऊर्जा पूर्वाधारमा भएका आक्रमणहरू कति हानिकारक छन् भनेर आँकलन गर्न गाह्रो भएको छ।
युक्रेनका अनुसार रूसले युक्रेनका शहर र बस्तीहरूमा ड्रोन र मिसाइलद्वारा गरेको दैनिक आक्रमणविरूद्धको युक्रेनी आक्रमण उचित प्रतिशोध हो।
पुटिनले मस्कोले आफ्नो हवाई प्रतिरक्षामा सुधार गर्नुपर्ने बताए। रुसी नेताले पश्चिमालाई १९ औँ शताब्दीका फ्रान्सेली सम्राट नेपोलियन बोनापार्ट र २० औँ शताब्दीका जर्मन नाजी नेता एडोल्फ हिटलरसँग तुलना गरे।
पुटिनले हालै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग चार वर्षभन्दा लामो युद्ध अन्त्य गर्न आमनेसामने वार्ताको सम्भावनालाई अस्वीकार गरेका थिए।