काठमाडौं। अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानले आफ्नो दायित्व पूरा गरेमा अमेरिकाले उसलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत हुन सहयोग गर्ने बताएका छन्।
फक्स न्युजको एक कार्यक्रममा भान्सले ट्रम्प प्रशासनले इरानसँग गरेको सम्झौताको तुलना बराक ओबामाको कार्यकालमा भएको सम्झौतासँग गरेका थिए।
उनले भने, “ओबामाको पालामा इरानसँग भएको सम्झौता पूर्ण रूपमा असफल भएको थियो। अहिलेको सम्झौता त्यसको ठीक विपरीत छ।”
भान्सका अनुसार यस सम्झौताअन्तर्गत इरानले परमाणु हतियार निर्माण गर्न पाउने छैन। साथै, उसले युरेनियम संवर्द्धन (एनरिचमेन्ट) गर्न वा भण्डारण गर्न पनि पाउने छैन।
उनले भने, “यस सम्झौताअनुसार इरानसँग परमाणु हतियार रहने छैन।, होर्मुज जलडमरूमध्य खुला रहनेछ। इरानले सम्झौताका सर्तहरू पालना गरेमा उसले विभिन्न आर्थिक तथा अन्य लाभ प्राप्त गर्न सक्छ। तर यदि उसले त्यसो गरेन भने कुनै लाभ पाउने छैन।”
भान्सले आगामी शुक्रबार स्विट्जरल्यान्डमा इरानसँगको युद्ध अन्त्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको बताएका छन्।
बीबीसी फारसीका अनुसार भान्सले मंगलबार सिरियस एक्सएम रेडियो नेटवर्कलाई दिएको अन्तर्वार्तामा इरानले प्राप्त गर्ने आर्थिक लाभ अमेरिकी स्रोत वा सम्पत्तिबाट पूर्ति नगरिने कुरामा बारम्बार जोड दिएका थिए।
उनले भने, “यदि इरानले सहयोग गर्छ र सम्झौताका सबै प्रावधानहरू पूर्ण रूपमा पालना गर्छ भने अमेरिकाले उसमाथिका प्रतिबन्धहरू हटाउनेछ र इरानमा लगानीका अवसरहरू खुला गर्नेछ।”
भान्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताका सम्पूर्ण सर्तहरू शुक्रबार वा सम्भवतः त्यसभन्दा अगावै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि बताए।