काठमाडौं। विश्व अर्थतन्त्र फेरि एक खतरनाक मोडमा उभिएको छ। अमेरिकाको व्यापार घाटा झन्डै दुई दशकयताकै सबैभन्दा गहिरो विन्दुमा पुगेको छ। चीनको व्यापार बचत तीन गुणाभन्दा बढी फराकिलो भएको छ। यदि, समयमै ठूला अर्थतन्त्रहरूले संयुक्त कदम चालेनन् भने यसले विश्वव्यापी ब्याजदर माथि धकेल्न सक्ने र वित्तीय संकटसम्म डोऱ्याउन सक्ने चेतावनी विश्वका चार प्रतिष्ठित अर्थशास्त्रीले जी सेभेनका लागि तयार पारेको एक ज्ञापन पत्रमा दिएका छन्।
चोङ-एन बाई (चिङहुआ विश्वविद्यालय), गीता गोपिनाथ (हार्वर्ड विश्वविद्यालय), हेलेन रे (लन्डन बिजनेस स्कुल) र एक्सेल वेबर (गोएथे विश्वविद्यालय)ले तयार पारेको यो प्रतिवेदनमा समावेश तथ्यांकहरूको विश्लेषण गर्दा यो असन्तुलन कुनै अल्पकालीन घटना नभई गहिरो संरचनात्मक समस्याबाट उत्पन्न भएको स्पष्ट हुन्छ।
अमेरिकाको चालू खाता घाटा १९ वर्षयताकै सबैभन्दा गहिरो
प्रतिवेदनमा उल्लेख भएको सबैभन्दा गम्भीर तथ्यांक अमेरिकासँग सम्बन्धित छ। सन् २०२५ को पहिलो ६ महिनामा अमेरिकाको चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४.६ प्रतिशत पुगेको छ। जो सन् २००६ मा विश्वव्यापी वित्तीय संकट सुरु हुनुअघिको उच्चतम स्तरयताकै सबैभन्दा खराब अवस्था हो। यो अंक सन् १९८० को दशकमा प्लाजा सम्झौता हुनुपर्ने अवस्थासम्म पुगेको स्तरसँग मिल्दोजुल्दो रहेकाले इतिहास दोहोरिने त्रास बढेको छ।
यसको दीर्घकालीन असर झनै चिन्ताजनक देखिन्छ। निरन्तर घाटा र सम्पत्ति मूल्यांकनमा आएको परिवर्तनले अमेरिकाको शुद्ध अन्तर्राष्ट्रिय दायित्व (अर्थात विदेशीसँग रहेको कुल ऋण र दायित्व) जिडिपीको ९० प्रतिशतसम्म पुगिसकेको छ।
सरकारी ऋणको हिसाबमा पनि चित्र उत्साहजनक छैन। अमेरिकाको सामान्य सरकारी ऋण हाल जिडिपीको करिब १२० प्रतिशत रहेको र सन् २०३१ सम्ममा १४० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। ऋणको ब्याज भुक्तानी मात्रै जिडिपीको ३ प्रतिशतभन्दा बढी पुगिसकेकाले भविष्यमा आउने आर्थिक धक्का सामना गर्ने सरकारको क्षमता निरन्तर साँघुरिँदै गएको प्रतिवेदनको ठहर छ।
चीनको व्यापार बचत तीन गुणाभन्दा बढी
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको चालू खाता बचत पनि उल्लेख्य रूपमा बढेको तथ्यांकले देखाउँछ। सन् २०२४ मा जिडिपीको २.३ प्रतिशत रहेको चीनको बचत सन् २०२५ को पहिलो नौ महिनामा बढेर ३.५ प्रतिशत पुगेको छ।
तर, सबैभन्दा चकित पार्ने तथ्यांक भने वस्तु व्यापारसँग जोडिएको छ। भन्सार तथ्यांकका आधारमा चीनको वस्तु व्यापार बचत सन् २०२५ मा करिब १.२ खर्ब अमेरिकी डलर पुगेको छ। जो महामारीअघि सन् २०१९ मा रहेको ४२१ अर्ब डलरको तुलनामा झन्डै तीन गुणा वृद्धि हो। यो वृद्धिले विद्युतीय सवारी साधन जस्ता विशिष्ट क्षेत्रमा अन्तर्राष्ट्रिय तनाव थप बढाएको छ।
यसको पृष्ठभूमिमा चीनको घरजग्गा क्षेत्रको संकट प्रमुख कारणका रूपमा देखिन्छ। नयाँ निर्मित घरजग्गाको बिक्री सन् २०२१ मा १७.०२ खर्ब युआन (जिडिपीको १४.५ प्रतिशत) रहेकोमा सन् २०२५ मा घटेर ८.३९ खर्ब युआन (जिडिपीको ६.० प्रतिशत) मा सीमित भएको छ। यसले घरपरिवारको उपभोग घटाएको र बचत बढाएको हुँदा अन्ततः व्यापार बचत थप फराकिलो बनाएको विश्लेषण प्रतिवेदनमा गरिएको छ।
उल्टो दिशामा युरोप अर्थतन्त्र
युरोप क्षेत्रको चालू खाता बचत भने अमेरिका र चीनको ठीक विपरीत दिशामा गइरहेको छ। सन् २०२४ को पहिलो ६ महिनामा जिडिपीको ३ प्रतिशतभन्दा बढी रहेको युरो क्षेत्रको बचत सन् २०२५ को सोही अवधिमा घटेर २ प्रतिशतमा सीमित भएको छ। यसले युरोपको उत्पादनशील लगानीमा रहेको दीर्घकालीन कमजोरीलाई संकेत गर्छ। जसलाई सुधार गर्न प्रतिवेदनले ड्राघी प्रतिवेदन अनुरूप कदम चाल्न जोड दिएको छ।
प्रतिवेदनले अमेरिकी वित्तीय बजारमा देखिएको खतरनाक केन्द्रीकरणतर्फ पनि ध्यानाकर्षण गराएको छ। हाल अमेरिकाका करिब २० प्रतिशत सेयर अनिवासी (गैरस्थानीय) लगानीकर्ताले धारण गरेका छन्। अझ चिन्ताजनक के छ भने, "म्याग्निफिसेन्ट सेभन" अर्थात सात ठूला प्रविधि कम्पनीले मात्रै एस एण्ड पी ५०० सूचकको करिब ३५ प्रतिशत र विश्वव्यापी इक्विटी सूचकको करिब २० प्रतिशत ओगटेका छन्।
प्रतिवेदनका अनुसार अमेरिकी सेयर बजारको जोखिम प्रतिफल (इक्विटी प्रिमियम) हाल सन् २००७-०८ को विश्वव्यापी वित्तीय संकट सुरु हुनुअघिको स्तरभन्दा पनि तल झरिसकेको छ। जसले बजारमा जोखिमको आंकलन अत्यन्त कम भएको संकेत गर्छ। यदि, एआई क्षेत्रको लगानीले अपेक्षाअनुरूप प्रतिफल दिन सकेन भने यसले सन् २००० को डट-कम बबल जस्तै "उत्थान-पतन" चक्र निम्त्याउने जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा संलग्न तथ्यांक विश्लेषणले विश्वव्यापी असन्तुलन अहिले विगतका दशकहरूको तुलनामा बढी स्थायी प्रकृतिको बन्दै गएको देखाएकाे छ। सन् १९७०को दशकमा जहाँ बचत वा घाटा रहेका मुलुकहरूमध्ये करिब ६ देखि ७ प्रतिशत मुलुकको असन्तुलन तीन वर्षसम्म उस्तै अवस्थामा रहन्थ्यो। सन् २०२०देखि २०२४ सम्मको अवधिमा यो अनुपात घाटा भएका मुलुकहरूको हकमा ४६ प्रतिशतभन्दा बढी पुगिसकेको छ। यसले असन्तुलन आफैँ सहज रूपमा सुधार हुने सम्भावना घटेको र अव्यवस्थित समायोजनको जोखिम बढेको देखाउँछ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२५ को अप्रिलमा प्रकाशन गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा गरिएको नमुना विश्लेषणअनुसार, यदि चीन, युरोपेली युनियन र अमेरिकाले एकै साथ आर्थिक सुधार लागू गरे विश्व जिडिपी ०.८ प्रतिशतले बढ्न सक्छ। मध्यकालीन विश्वव्यापी चालू खाता असन्तुलन विश्व जिडिपीको करिब ०.५ प्रतिशत बिन्दुले घट्न सक्छ।
बचत भएका मुलुकहरू, जस्तै चीनले मात्र समायोजन गरे र घाटा भएका मुलुकहरू, जस्तै अमेरिकाले गरेनन् भने, यसले विश्वव्यापी वास्तविक ब्याजदर बढाउने र वित्तीय जोखिम झनै चुलिने खतरा रहेको प्रतिवेदनमा औँल्याइएको छ। यसैले अर्थशास्त्रीले एकल वा क्रमिक कदमभन्दा समन्वित र एकसाथ हुने नीतिगत कारबाहीलाई नै सबैभन्दा प्रभावकारी उपायका रूपमा सिफारिस गरेका छन्।