काठमाडौं। अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई)का अनुसार अमेरिकाको कच्चा तेलको मौज्दात ८३ लाख ३० हजार ब्यारेलले घटेको अनुमान गरिएको छ। विश्लेषकहरूले ४५ लाख ब्यारेलको कमी हुने अपेक्षा गरेका थिए। यसअघि पनि अमेरिकी कच्चा तेलको मौज्दात ९१ लाख १९ हजार ब्यारेलले घटेको थियो।
पछिल्ला दुई महिनाभन्दा बढी अवधिमा अमेरिकी कच्चा तेलको मौज्दात तीव्र रूपमा घट्दै आएको छ। पछिल्ला ९ सातामा मात्रै ५ करोड २० लाख ब्यारेल मौज्दात घटेको छ। तथापि, एपीआईको तथ्यांकअनुसार सन् २०२६ को सुरुआतदेखि हालसम्म कुल मौज्दात केवल १४ लाख ब्यारेलले मात्र घटेको छ।
अमेरिकाको रणनीतिक पेट्रोलियम भण्डार (एसपीआर) पनि द्रुत रूपमा घटिरहेको छ। मूल्यमा दबाब कम गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भण्डारबाट तेल निकासी जारी राखेको छ। जुन १२ मा समाप्त सातामा एसपीआरबाट थप ८९ लाख ब्यारेल तेल निकालिएको छ। यससँगै कुल भण्डार ३४ करोड ३ लाख ब्यारेलमा झरेको छ, जुन सन् १९८३ यताकै सबैभन्दा न्यून स्तर हो। यो भण्डारण क्षमताभन्दा करिब ३८ करोड ५० लाख ब्यारेल कम हो।
अमेरिकी ऊर्जा सूचना प्रशासन (इआईए)का अनुसार जुन ५ मा समाप्त सातामा अमेरिकी कच्चा तेल उत्पादन दैनिक १ करोड ३७ लाख ९९ हजार ब्यारेल पुगेको छ, जुन अघिल्लो साताको १ करोड ३७ लाख ७ हजार ब्यारेलभन्दा बढी हो। यो एक वर्षअघिको तुलनामा दैनिक ३ लाख ७१ हजार ब्यारेलले वृद्धि भएको हो।
मंगलबार अपराह्न २ः५१ बजे (अमेरिकी समय) ब्रेन्ट क्रुडको मूल्य ४.८ प्रतिशतले घटेर प्रतिब्यारेल ७९.१८ डलरमा कारोबार भइरहेको थियो। अमेरिका र इरानबीच प्रारम्भिक सम्झौता भएपछि तथा होर्मुज जलडमरूमध्य पुनः सञ्चालन हुने संकेतसँगै तेलको मूल्यमा दबाब परेको हो। यो मूल्य गत साताको तुलनामा प्रतिब्यारेल करिब १२ डलर कम हो।
त्यसैगरी, डब्लुटीआई कच्चा तेलको मूल्य ५.५७ प्रतिशतले घटेर प्रतिब्यारेल ७६.२५ डलरमा झरेको छ, जुन अघिल्लो साताको तुलनामा करिब १२ डलर कम हो।
इन्धनतर्फ, पेट्रोलको मौज्दात जुन १२ मा समाप्त सातामा २४ लाख ७९ हजार ब्यारेलले बढेको छ। अघिल्लो सातामा भने पेट्रोलको मौज्दात ११ लाख ९१ हजार ब्यारेलले घटेको थियो। इआईएका अनुसार पेट्रोल मौज्दात अझै पनि पाँच वर्षको औसतभन्दा ६ प्रतिशत कम रहेको छ।
डिस्टिलेट (डिजेल तथा तत्सम्बन्धी इन्धन) को मौज्दात ४ लाख ६१ हजार ब्यारेलले घटेको छ। अघिल्लो सातामा यो मौज्दात १३ लाख ब्यारेलले बढेको थियो। जुन ५ सम्मको तथ्यांकअनुसार डिस्टिलेट मौज्दात पाँच वर्षको औसतभन्दा १३ प्रतिशत कम छ।
डब्लुटीआई कच्चा तेल फ्युचर्स सम्झौताको डेलिभरी केन्द्र मानिने कुशिङ भण्डारण केन्द्रको मौज्दात पनि १५ लाख २३ हजार ब्यारेलले घटेको छ। अघिल्लो सातामा त्यहाँको मौज्दात ११ लाख २५ हजार ब्यारेलले घटेको थियो।