काठमाडौं। एमजीको शक्तिशाली एसयूभी ‘मेजेस्टर’ नेपाली बजारमा भित्रिएको छ। एमजीको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले एमजीको सबैभन्दा ठूलो तथा प्रिमियम इन्धन एसयूभी मेजेस्टर नेपाली बजारमा भित्र्याएको हो।
एमजी मोटर इन्डियाले गत महिना मात्रै भारतीय बजारमा बिक्री सुरु गरेको मेजेस्टर उच्च क्षमता, आधुनिक प्रविधि र अफरोड प्रदर्शनका कारण चर्चामा छ। यसको नेपाली बजारमा मूल्य २ करोड ५० लाख रुपैयाँ तोकिएको छ।
एमजी मेजेस्टर आफ्नो श्रेणीकै निकै शक्तिशाली एसयूभी हो। यस एसयूभीमा प्रयोग गरिएको २.० लिटर ट्विन–टर्बो डिजेल इन्जिनले गत मार्चमा ४०६.४ टन तौल भएको रेल तानेर ‘गिनिज वल्र्ड रेकर्ड’ समेत कायम गरिसकेको छ।
मेजेस्टरमा रहेको इन्जिनले २१५.५ पीएस पावर र ४७८.५ एनएम टर्क उत्पादन गर्छ। यसमा ८–स्पीड अटोमेटिक ट्रान्समिसन दिइएको छ भने रियर–ह्वील ड्राइभ र फोर–ह्वील ड्राइभ दुवै विकल्प उपलब्ध छन्।
आकारका हिसाबले पनि मेजेस्टर निकै ठूलो एसयूभी हो। यसको लम्बाइ ५,०४६ एमएम, चौडाइ २,०१६ एमएम र उचाइ १,८७६ एमएम छ। यसको ह्वीलबेस २,९५० एमएम रहेको छ, जसले विशाल केबिन र आरामदायी यात्राको अनुभव प्रदान गर्छ। यस गाडीमा २१९ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ।
बाह्य डिजाइनमा अगाडिको ग्लसी ब्ल्याक ग्रिल, ठाडो आकारका एलईडी हेडल्याम्प, माथिल्लो भागमा रहेको एलईडी डे–टाइम रनिङ लाइट, रग्ड बम्पर तथा १९ इन्चका ड्युअल–टोन अलोय ह्वीलले यसलाई थप आकर्षक बनाएका छन्। पछाडिको कनेक्टेड एलईडी टेललाइट, डुअल एग्जस्ट र सिल्भर स्किड प्लेटले यसको स्पोर्टी पहिचानलाई अझ बलियो बनाउँछ।
अफरोड क्षमतामा पनि मेजेस्टर निकै सक्षम रहेको कम्पनीको दाबी छ। यसमा १० वटा अफरोड ड्राइभ मोड, ट्रिपल डिफरेन्सियल लक (अगाडि, बीच र पछाडि), क्रल कन्ट्रोल पाउन सकिन्छ। यसलाई ८१० एमएम गहिरो पानी जमेको ठाउँमा पनि बिना कुनै समस्या कुदाउन सकिन्छ।
सुरक्षाका लागि एसयूभीमा लेभल–२ एडास समावेश गरिएको छ। केबिनभित्र १२.३ इन्चको फ्लोटिङ टचस्क्रिन, १२.३ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, थ्री–स्पोक स्टेयरिङ, थ्री–जोन क्लाइमेट कन्ट्रोल, १२–स्पिकर प्रिमियम अडियो सिस्टम, हिटेड तथा भेन्टिलेटेड सिट र मसाज फङ्सनजस्ता प्रिमियम सुविधा उपलब्ध छन्।