जनकपुरधाम।मधेस प्रदेशका स्थानीय तहमा करदाता सेवा विस्तार हुन थालेको छ। संघीय सरकारले नागरिकलाई सहज, छरितो र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यसहित अघि सारेको ‘स्थानीय तहबाटै करदाता सेवा’ अवधारणाले व्यावहारिक रूप लिन थालेको हो।
नेपालमा संघीयता लागू भएको एक दशक पुग्न लाग्दा पनि धेरै सार्वजनिक सेवा अझै केन्द्रित संरचनाबाट सञ्चालन हुँदै आएका छन्। कर प्रशासन पनि त्यसमध्ये एक थियो। स्थायी लेखानम्बर (प्यान) दर्ता, प्यान रूपान्तरण, आयकर दर्ता तथा अन्तःशुल्कसम्बन्धी विभिन्न प्रक्रियाका लागि सेवाग्राहीले घन्टौँ यात्रा गर्नुपर्ने अवस्था थियो।
विशेषगरी ग्रामीण क्षेत्रका नागरिक र साना व्यवसायीका लागि यो झन्झटिलो मात्र होइन, खर्चिलो पनि थियो। मधेसमा यसको प्रभावकारी कार्यान्वयन हुन थालेको देखिन्छ । यसलाई सङ्घीय शासन प्रणाली कार्यान्वयनको एउटा महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ।
मधेस प्रदेशका ३२ वटा स्थानीय तहमा करदाता सेवा सुरु भएसँगै नागरिकले करसम्बन्धी कामका लागि जिल्ला सदरमुकाम वा आन्तरिक राजस्व कार्यालय धाउनुपर्ने बाध्यता कम हुँदै गएको छ। सप्तरी, धनुषा, सर्लाही, रौतहट र बाराका ३२ स्थानीय तहमा सेवा सुरु हुनु त्यसको उदाहरण हो।
प्रदेशको आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म सप्तरी, धनुषा, सर्लाही, रौतहट र बाराका ३२ स्थानीय तहबाट करदाता सेवा सुरु भइसकेको आन्तरिक राजस्व कार्यालयहरूले जनाएका छन्। आन्तरिक राजस्व कार्यालय सिरहाका प्रमुख अमित पौडेलका अनुसार सप्तरीका १८ स्थानीय तहमध्ये १६ वटामा करदाता सेवा सुरु भइसकेको छ।
बाँकी दुई पालिका पनि छिट्टै सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए। सप्तरीको सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालनी, शम्भुनाथ, खडक नगरपालिका, बोदेबसाईन, डाक्नेश्वरी र सुरुंगा नगरपालिका तथा अग्निसाइर कृष्णासबरण, तिरहुत, महदेवा, तिलाठी कोइलाडी, राजगढ, विष्णुपुर, छिन्नमस्ता र बलानबिहुल गाउँपालिकामा करदाता सेवा सुरु भइसकेको प्रमुख पौडेलले बताए। राजविराज नगरपालिका र रुपनी गाउँपालिकामा पनि छिट्टै सुरु गर्ने तयारी भइरहेको उनको भनाइ छ।
सिरहामा भने कुनै पनि स्थानीय तहबाट अहिलेसम्म करदाता सेवा सुरु हुन नसकेको प्रमुख पौडेलले बताए। आन्तरिक राजस्व कार्यालय लहान र सदरमुकाम सिरहास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले सिरहा जिल्लामा करदाता सेवा पुर्याउँदै आएको छ।
यस्तै धनुषाको मिथिला नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाले पनि केही दिनदेखि करदाता सेवा सञ्चालन गरेको आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए। धनुषाका केही स्थानीय तहमा करदाता सेवा सञ्चालन सम्बन्धमा छलफल र सम्झौताको काम अघि बढेको उनले बताए।
सर्लाहीको लालबन्दी नगरपालिका, बागमती नगरपालिका, ईश्वरपुर नगरपालिका, हरीवन नगरपालिका, हरिपुर्वा नगरपालिका र हरीपुर नगरपालिकामा करदाता सेवा सुरु भइसकेको आन्तरिक राजस्व कार्यालय महोत्तरी बर्दिबासमा सूचना अधिकारी रोबिन साहले जनाए। सर्लाहीको बाँकी चारवटा पालिकामा करदाता सेवा सञ्चालनका लागि प्रयास भइरहेको उनको भनाइ छ।
आन्तरिक राजस्व कार्यालय सिमरा बाराका अनुसार रौतहटको सात वटा पालिकाबाट करदाता सेवा सञ्चालन भइसकेको छ। रौतहटको चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, गुजरा नगरपालिका, कटहरीया नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयीपुर नगरपालिकामा करदाता सेवा सुरु भइसकेको आन्तरिक राजस्व कार्यालय सिमरा बाराका प्रमुख दिनेश पाण्डेले बताए। बारामा भने जितपुर सिमरा उपमहानगरबाट मात्र करदाता सेवा सञ्चालन भइरहेको उनले जानकारी दिए।
रौतहट र बाराका केही स्थानीय तहबाट करदाता सेवा सञ्चालनका लागि सम्झौता र तालिम दिने काम भइरहेकाले यथाशीघ्र ती पालिकामा पनि करदाता सेवा सुरु गर्ने तयारी भइरहेको प्रमुख पाण्डेको भनाइ छ। उनका अनुसार सिरहा, महोत्तरी र पर्साका कुनै पनि स्थानीय तहले अहिलेसम्म करदाता सेवा सञ्चालन गर्न सकेको छैनन्।
विगतमा आन्तरिक राजस्व कार्यालयबाट दिँदै आएको व्यक्तिगत तथा व्यवसायी स्थायी लेखानम्बर जारी गर्ने, प्यान रुपान्तरण गर्ने तथा आयकर दर्तासम्बन्धी काम अब स्थानीय तहबाट प्राप्त हुन थालेका छन्। यसका साथै अन्तशुल्कसम्बन्धी इजाजत जारी तथा नवीकरण प्रक्रियाका लागि कागजात सङ्कलन र प्रारम्भिक प्रमाणीकरण पालिकाबाटै गरी अन्तिम स्वीकृति आन्तरिक राजस्व कार्यालयबाट डिजिटल हस्ताक्षरमार्फत हुने व्यवस्था रहेको जनाएको छ।
स्थानीय तहबाट करदाता सेवा सञ्चालन भएपछि पालिकाभित्रका करदातालाई सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हट्नुको साथै करदातालाई समय र खर्च पनि बचत हुने सप्तरीको तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवले विश्वास व्यक्त गरे।–रासस