काठमाडौं। पछिल्लो केही वर्षदेखि नेपाली बजारमा निरन्तर वृद्धि हुँदै आएको विद्युतीय सवारी साधन (ईभी)को आयात घट्दा डिजेल/पेट्रोल गाडीको आयात बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार ईभीको आयात सुस्ताउँदा परम्परागत डिजेल/पेट्रोल गाडीको आयात उल्लेख्य बढेको हो।
चालू आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठसम्म)को अवधिमा विद्युतीय कार आयात १९.२७ प्रतिशतले घट्दा इन्धन कार आयात २१.६२ प्रतिशत बढेको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको जेठ मसान्तसम्म विद्युतीय र पेट्रोल दुवै गरी कुल १५ हजार ४६६ युनिट कार, जीप, भ्यान आयात भएको छ। गत आवको ११ महिनाको तुलनामा चालू आवमा समग्र कार आयात १ हजार ७८६ युनिट कम भएको छ। गत वर्ष जेठसम्म कुल १७ हजार २७२ युनिट कार आयात भएको थियो।
पेट्रोल कारको आयात उकालो
विगत केही वर्षदेखि घट्दो अवस्थामा रहेको पेट्रोल कारको आयात चालू आर्थिक वर्षमा भने वृद्धि देखिएको छ। गत वर्षको तुलनामा यस वर्ष २१.६२ प्रतिशतले पेट्रोल कारको आयात बढेको छ।
यस वर्षको ११ महिनाको अवधिमा ४ हजार ५७४ युनिट पेट्रोल कार आयात भएको छ। गत वर्ष जेठसम्म कुल ३ हजार ७६१ युनिट पेट्रोल कार आयात भएको थियो।
११ महिनामा कुल ४ हजार ५७४ युनिट पेट्रोल कार आयात हुँदा २ हजार ९६ युनिट अनएसेम्बल कार आयात भएको विभागको तथ्यांक छ। पेट्रोल कार आयातमा हुन्डाईको वर्चश्व रहेको छ। नेपालमा हाल हुन्डाईले मात्रै चार पांग्रे सवारी एसेम्बल गर्ने भएकाले यो सबै कार उसकै हो। हुन्डाईले नेपालमा क्रेटा र भेन्यू उत्पादन गर्दै आएको छ।
ईभी कारको आयातमा गिरावट
विगत केही महिनादेखि नेपाली बजारमा ईभी कारको आयात घट्दो क्रममा देखिएको छ। गत आवको तुलनामा चालू आवमा बजेटअघि ठूलो संख्यामा कार आयात नहुँदा समग्र आयातमा प्रभाव परेको हो।
चालू आवको ११ महिनाको अवधिमा कुल २५ अर्ब ६८ करोड रुपैयाँ बराबरको १० हजार ८९२ युनिट ईभी कार आयात भएको छ। उक्त आयातबाट सरकारले १५ अर्ब ५३ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
गत वर्ष ११ महिनामा १३ हजार ४९२ युनिट ईभी कार आयात भएकोमा चालू आवमा २ हजार ६०० युनिटले घटेको हो। गत वर्षको तुलनामा यस वर्ष १९.२७ प्रतिशतले ईभीको आयात घटेको छ।
चालू आवमा ५० किलोवाटसम्मका ३ हजार ६८० युनिट कार आयत भएका छन्। ५१ देखि १०० किलोवाटसम्मका ६ हजार ३५७ युनिट १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ७९८ युनिट आयात भएका छन्। २०१ किलोवाटमाथिका १० युनिट ईभी आयात भएका छन्। त्यस्तै, ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार आयात भएको छ।
दुई पांग्रेको आयात ३४.१९ प्रतिशत बढ्यो
चालू आर्थिक वर्षमा दुई पांग्रे सवारी साधनको आयात उल्लेख्य रूपमा बढेको छ। ११ महिनाको अवधिमा पेट्रोल र ईभी दुवै गरी २ लाख ५० हजार १८१ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएको छ। गत वर्षको तुलनामा यस वर्ष ६३ हजार ७५५ युनिट बढी दुई पांग्रे सवारी आयात भएको हो।
गत वर्ष ११ महिनामा १ लाख ८६ हजार ४२६ युनिट मोटरसाइकल र स्कुटर आयात भएको थियो। भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ११ महिना (साउन-जेठ)को तथ्यांकअनुसार दुई पांग्रे सवारी आयात ३४.१९ प्रतिशतले बढेको हो।
चालू आर्थिक वर्षमा २९ अर्ब ९० करोड १० लाख रुपैयाँ बराबरको २ लाख २७ हजार ९४१ युनिट इन्धन बाइक तथा स्कुटर आयात भएका छन्। उक्त आयातबाट सरकारले २८ अर्ब ९३ करोड ३० लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
विभागका अनुसार चालू आवमा आयात भएको दुई पांग्रे सवारीमध्ये अनएसेम्बलको हिस्सा ८२.४४ प्रतिशत रहेका छन्। ११ महिनामा २ लाख ६ हजार ३४७ युनिट अनएसेम्बल दुई पांग्रे सवारी आयात हुँदा ४३ हजार ९३४ युनिट तयारी अवस्थाका मोटरसाइकल तथा स्कुटर आयात भएको हो।
हाल नेपालमा आधार दर्जन बढी ब्रान्डका दुई पांग्रे सवारी उत्पादन हुने गरेका छन्। अहिले रोयल इनफिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होण्डा, सीएफमोटो लगायत ब्राण्डका मोटरसाइकल/स्कुटर नेपालमै एसेम्बल हुन्छन्।
११ महिनामा २ अर्ब २९ करोड ७१ लाख रुपैयाँ बराबरको २२ हजार २४० युनिट दुई पांग्रे ईभी बाइक तथा स्कुटर आयात भएको छ। उक्त आयातबाट सरकारले ८० करोड ४४ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। गत वर्षको तुलनामा यस वर्ष ११ हजार ६८९ युनिट धेरै ईभी आयात भएको हो।
गत वर्षको सोही अवधिमा ९९ करोड ४९ लाख रुपैयाँ बराबरको १० हजार ५५१ युनिट ईभी बाइक तथा स्कुटर आयात भएको थियो। उक्त आयातबाट सरकारले ३५ करोड ४ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।