काठमाडौं। सडक विभागले मनसुन सुरु भएसँगै देशभरका मुख्य राजमार्गलाई निरन्तर चलायमान राख्न पहिरो जानासाथ ३० मिनेटभित्रै जनशक्ति र उपकरण तुरुन्तै पुर्याइसक्ने योजना अगाडि सारेको छ।
पानी परेपछि मुख्य राजमार्गमा पहिरो जाने, बाटो अवरुद्ध हुने, रुखबिरुवा ढल्नेलगायत प्राकृतिक प्रकोप हटाउन विभागले १५ हजार किलोमिटर सडकमध्ये करिब १० हजार किलोमिटर ‘अल वेदर’ सडकलाई प्राथमिकतामा राखेर जनशक्ति र उपकरण परिचालन गर्ने भएको हो।
विभागका अनुसार मुख्य राजमार्गमा पहिरो गए दिउँसोको समय आधा घन्टाभित्रै प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा दुई घन्टाभित्रै बाटो खुलाउने लक्ष्यसहित जनशक्ति र उपकरण परिचालन गरिनेछ।
यस वर्षदेखि आधुनिक प्रविधि प्रयोग गर्दै ‘सेतु’ नामक सफ्टवेयरमार्फत देशभरका २ सय ७७ वटा हेभी इक्विपमेन्ट र तिनका अपरेटरको ‘लाइभ लोकेसन’ ट्रयाक गरिने सडक विभागका महानिर्देशक डा. विजय जैसीले बताए। पहिरो गएको सूचना आउनासाथ सबैभन्दा नजिक रहेको मेसिनलाई तत्काल घटनास्थलमा परिचालन गर्न सहज बनाउने उनको भनाइ छ।
कमजोर भू–बनावटका कारण देशका विभिन्न स्थान पहिरोको जोखिममा रहे पनि नागढुंगा–मुग्लिङ, नारायणगढ–मुग्लिङ र कान्ति लोकपथका मुख्य पहिरोलाई बायो–इन्जिनियरिङ र रक एंकरिङजस्ता प्रविधिमार्फत स्थिर (स्ट्याबलाइज) गरिसकिएको विभागले बताएको छ।
जैसीका अनुसार झ्याप्ले खोला, महेश खोला र कृष्णभीरजस्ता जटिल पहिरो नियन्त्रणमा आइसकेका छन् भने तुइन खोलालगायतका केही ठाउँमा काम द्रुत गतिमा छ।
सेतु एपबाट मुख्य राजमार्गअवराेध भए/नभएकाे, पहिराे गए/नगएकाे, सवारीसाधन सञ्चालन भए/नभएकाे जान्न सकिने उनकाे भनाइ छ। पहिराे गएकाे स्थानमा लाइभ ट्रयाक गरिएपछि जनशक्ति र हेभी इक्विपमेन्ट परिचालनमा सघाउ पुग्ने उनले बताए। देशभरका मुख्य राजमार्गमा जुनसुकै माैसमका बेला पनि अवराेधरहित बनाउने गरी विभागले काम गरिरहेकाे उनले जानकारी दिए।