जनकपुरधाम। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवाको सीप, अनुभव र कार्यसंस्कृतिलाई स्वदेशमै उत्पादन, उद्यमशीलता र रोजगारीसँग जोड्न सके मुलुकको आर्थिक विकासले नयाँ गति लिने बताएका छन्।
मधेश प्रदेश सरकार, श्रम तथा यातायात मन्त्रालयद्वारा आयोजित वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकहरूको पुनःएकीकरण, सम्मानजनक रोजगारी तथा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै उपाध्यक्ष पाण्डेले विदेशबाट फर्किएका नेपालीहरू केवल श्रमिक नभई अनुभव, सीप, अनुशासन तथा अन्तर्राष्ट्रिय कार्यसंस्कृति बोकेका अमूल्य मानव पूँजी भएको उल्लेख गरे।
उनले मधेश प्रदेश नेपालको आर्थिक, औद्योगिक तथा कृषि विकासको महत्वपूर्ण केन्द्र रहेको उल्लेख गर्दै खुला सीमा, उर्वर भूमि, उद्यमशील जनशक्ति र व्यापारिक सम्भावनालाई दक्ष जनशक्ति, लगानी तथा उद्यमसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।
पाण्डेले रोजगारी सिर्जना सरकार र निजी क्षेत्रको साझा जिम्मेवारी भएको उल्लेख गर्दै निजी क्षेत्र आर्थिक विकासको इन्जिन र सरकार नीति, सहजीकरण तथा पूर्वाधारको आधार भएकाले दुवै पक्षबीचको सहकार्य सुदृढ हुनुपर्ने बताए। सहकार्य जति प्रभावकारी हुन्छ, उत्पादन, लगानी र रोजगारीका अवसर पनि त्यति नै विस्तार हुने उनको भनाइ थियो।
उनले नेपाल उद्योग वाणिज्य महासंघले सीप विकास, रोजगारी प्रवर्द्धन, उद्यमशीलता विकास, उद्योगमैत्री वातावरण तथा लगानी प्रवर्द्धनका पक्षमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्योग, व्यवसाय तथा स्वरोजगारसँग जोड्न आवश्यक तालिम, सीप प्रमाणीकरण, वित्तीय पहुँच, बजार व्यवस्थापन तथा परामर्श सेवामा सरकार र विकास साझेदारसँग सहकार्य गर्न महासंघ प्रतिबद्ध रहेको बताए।
उपाध्यक्ष पाण्डेले मधेश प्रदेशमा उद्योग, कृषि आधारित प्रशोधन, लजिस्टिक्स, निर्माण, पर्यटन तथा साना तथा मझौला उद्यममा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै फर्किएका युवालाई यी क्षेत्रमा अवसर उपलब्ध गराउन सके वैदेशिक अनुभवलाई स्वदेशको समृद्धिमा रूपान्तरण गर्न सकिने धारणा व्यक्त गरे।
उनले मधेश प्रदेश सरकारलाई निजी क्षेत्रसँगको सहकार्यलाई अझ संस्थागत, प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै लगानीमैत्री वातावरण, नीतिगत स्थायित्व, सहज व्यवसायिक प्रक्रिया तथा दक्ष जनशक्ति विकासमा संयुक्त प्रयास आवश्यक रहेको बताए। यस्ता प्रयासबाट मात्र 'समृद्ध मधेश, समृद्ध नेपाल'को लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो।